चुरे क्षेत्रमा खानेपानी धारा जडान, ८६ घरधुरी लाभान्वित

कार्तिक १८, २०७६ | सिरहा

सिरहाको उत्तरवर्ती चुरेक्षेत्र धनगढीमाई नगरपालिका १३ स्थित दुरविन डाँडा बस्तीमा बल्ल खानेपानी पुगेको छ । खानेपानीका लागि घरलौरी धारा जडान भएपछि बस्तीका ८६ घरपरिवार लाभान्वित भएका छन् । पूर्व पश्चिम राजमार्गदेखि ८ किलोमिटर उत्तरमा अवस्थित दुरविन डाँडा क्षेत्रमा ८६ घरपरिवार मगर, तामाङ समुदायको बसोबास छ ।

खानेपानीको सुविधा नहुँदा वर्षौदेखि त्यस क्षेत्रका स्थानीय एक किलोमिटर पर सर्रे खोलाको पानी पिउँथे । वर्षायामभरी तीन महिना बाढीको पानी पिउन बाध्य थिए भने चैत बैशाखमा खोलामा पानी कम हुँदा जंगल क्षेत्रको खोल्साखोल्सीको पानी पिउनुपर्ने बाध्यता थियो । 

सो क्षेत्रमा युनिसेफ, नगरपालिका, वडा कार्यालय र स्थानीयको जनश्रमदान पछि ५० लाख ५० हजार रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण गरिएको हो । खानेपानीका लागि दुरविन डाँडामा २० हजार लिटर क्षमताको ओभरहेड टंकी निर्माण गरिएको छ । टंकीमा पानी ल्याउन ६ सय मिटर तल सर्रे खोला किनारमा इनार खनी त्यहाँबाट विद्युतीय मोटरको माध्यमबाट ओभरहेड टंकीमा पानी जम्मा गरी वितरण गरिने व्यवस्था मिलाइएको छ । 

युनिसेफ र नगरपालिकाले खानेपानीका लागि रकम उपलब्ध गराएपछि दुरविन डाँडाबासीले रकम संकलन गरी जनश्रमदानमा जुटेका थिए । घरमा जस्तोसुकै आपत विपत परेपनि पानी ल्याउन खोला झर्नै पर्ने कष्ट झेल्दै आएका गाउँलेहरू घर घरमै पानीको धारा आउने भएपछि दिनरात नभनी श्रमदानका लागि स्थानीय खटिएका थिए । 

खानेपानीको चरम समस्या झेल्दै आएको सिरहाको उत्तरवर्ती चुरे क्षेत्र दुरविन डाँडामा खानेपानी योजनाका लागि स्थानीयले गतवर्ष देउसी खेलेर रकम संकलन गरेका छन् । सिरहाको धनगढीमाई नगरपालिका १३ का वडाध्यक्ष सूर्यमान तामाङको नेतृत्वमा गतवर्ष देउसी खेलेर खानेपानी योजनाका लागि ५७ हजार रुपैयाँ नगद संकलन गरेका थिए ।

पछिल्लो भदौ २२ गते दुरविन डाँडा खानेपानी उपभोक्ता समिति गठन गरी असोज ६ गतेबाट गाउँले जनश्रमदानमा जुटेको उपभोक्ता समितिका अध्यक्ष इन्द्र वहादुर तामाङले बताउनुभयो । जिल्लाको उत्तरवर्ती विकट चुरे क्षेत्रका ती बस्ती बाटघाटो, खानेपानी, बिजुली, सञ्चारमात्र होइन आधारभूत स्वास्थ्य सेवाबाट समेत वञ्चित थिए । गाविसबाट धनगढीमाई नगरपालिकामा परिणत भएपछि नगरपालिकाले ती बस्ती पुग्न सडक सञ्जाल विस्तार गरेको छ ।

 

चार दर्जन भन्दा बढी बस्ती ‘खोला’ र ‘खोल्सी’को पानी पिउन बाध्य :

जिल्लाको उत्तरवर्ती चुरेसँग जोडिएका लहान नगरपालिकाका १६, १५ र धनगढीमाई नगरपालिकाका १४ नम्बर वडाका चार दर्जन गाउँका बासिन्दा अझैपनि खानेपानीको समस्या झेलिरहेका छन् । बरदमार, आहाले लगायत चार दर्जन गाउँका बासिन्दा अझैपनि  खोलाको पानी पीउन बाध्य छन् ।

खोलामा बाढी आउँदा धमिलो पानी पिउँन बाध्य हुन्छन् । खानेपानीको वैकल्पिक व्यवस्था धाराहरु जडान नहुँदा जीवन बचाउनका लागि भएपनि ती क्षेत्रका बासिन्दा खोलाको पानी पिउन बाध्यता भएको सुनाउँछन् । उत्तरवर्ती विकट चुरे क्षेत्रमा अवस्थित ती गाउँमा १५ हजार भन्दा बढी जनसंख्याको बसोबास छ । अधिकांश मगर, राई, तामांग, ब्राम्हण, क्षेत्री, सुनुवार समुदायको बसोबास रहेको ती क्षेत्रका एक दुई स्थानमा गैरसरकारी संस्था र तत्कालीन गाविस अनुदानमा खोला किनारमा इनार निर्माण गरिएको थियो । 

रमितेमा खोल्सी छेउ कुवा निर्माण गरिएको भएपनि वर्षायाममा पानी धमिलो हुने र सुख्खायाम चैत बैशाखमा इनारमा पानी सुक्ने समस्या हुने गरेको आरीदमारका ७८ वर्षीय रामबहादुर थापाले सुनाए । ती क्षेत्रका अधिकांश गाउमा पानी मुहान खोजी गरी घर घर धारा पुऱ्याउन सकिने पर्याप्त संभावना भएपनि त्यतिखेर सरोकारवाला निकायले चासो नदिएको ती क्षेत्रका बासिन्दाको भनाई छ । लहान नगरपालिका र धनगढीमाई नगरपालिकाका अधिकांश वडामा बिजुली पुगेपनि उत्तरवर्ती विकट ती गाउँमा बिजुली पुग्न सकेको छैन । 


प्रतिक्रिया