उमेदवारलाई चुनाव चिन्ह

रेडियो कान्तिपुर संवाददाता

कार्तिक २५, २०७६ | पोखरा

आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका उमेदवारलाई सोमबार निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको छ । कास्की निर्वाचन क्षेत्र नम्बर दुईमा रिक्त प्रतिनिधिसमा सदस्यका लागि २१ उम्मेदवार कामय भएका थिए ।

१४ राजनीतिक दल र ११ स्वतन्त्र गरी २५ उम्मेदवारले मनोनयन दर्ता गराएकामा ३ पार्टीका उम्मेदवारको उम्मेदवारी बदर भएको छ भने एक उम्मेदवारले आइतबार उमेदवारी फिर्ता लिएका थिए ।  

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्वतन्त्र उमेदवारलाई किताव, शंख, गुलाफको फुल, क्यामेरा, कलम, आँप, डोजर, माहुरी, टेबल, क्रिकेट ब्याट चिन्ह प्रदान गरिएको हो । चुनावी प्रतिस्पर्धामा ११ दल र १० स्वतन्त्र उमेदवार रहेको सहायक निर्वाचन अधिकृत रामचन्द्र उपाध्यायले बताउनुभयो ।   

चुनाव चिन्ह पाएलगत्तै उमेदवारले चुनावी प्रचारलाई तीब्रता दिएका छन । यसअघि व्यक्तिगत रुपमा प्रचारमा हिँडेका स्वतन्त्र उमेदवार सोमबार दिउँसोबाट चुनाव चिन्ह सहित प्रचारमा जुटेका हुन् । प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुने कास्की–२ एकमात्र निर्वाचन क्षेत्र हो ।

पोखरामा नेकपाकी विद्या भट्टराई अधिकारी, कांग्रेसका खेमराज पौडेल, साझा पार्टीका रजनी केसी, समाजवादीबाट धर्मराज गुरुङ र विवेकशीलबाट जमुना शर्मा लगायत चुनावी मैदानमा छन् । 

तत्कालीन पर्यटनमन्त्री रविन्द्रप्रसाद अधिकारीको गत फागुन १५ मा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका कारण प्रतिनिधिसभा सदस्य खाली भएपछि उपनिर्वाचन हुन लागेको हो । 


प्रतिक्रिया