चुनावी सरगर्मी, घरदैलो र प्रचारप्रसार बढ्यो

रेडियो कान्तिपुर संवाददाता

कार्तिक २६, २०७६ | काठमाडौं

- उपनिर्वाचनको मिति नजिकिएसँगै जिल्लाहरुमा चुनावी गतिविधी बढेको छ । उम्मेदवारहरु बिहानैदेखि घरदैलो तथा मतदाता भेटघाटमै व्यस्त भएका छन् । निर्वाचन आयोगले उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरेसँगै उम्मेदवार औपचारिक रुपमा चुनावी प्रचारमा जुटेका हुन । प्रतिनिधी र प्रदेशसभाको हकमा १६ दिन र स्थानीय तहका उम्मेदवारले १० दिन चुनावी प्रचार–पसार गर्न पाउने छन् ।

निर्वाचन आयोगले प्रतिनिधि र प्रदेशसभातर्फ चुनावी प्रतिस्पर्धामा उत्रिएका ६४ जना उम्मेदवारलाई हिजो निर्वाचन चिन्ह प्रदान गरेको छ । दलगत रुपमा उठेका उम्मेदवारलाई दलकै निर्वाचन चिन्ह र स्वतन्त्र उम्मेद्वारको हकमा उनीहरुले रोजे अनुसारको निर्वाचन चिन्ह उपलब्ध गराएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिनिधिसभाका लागि कास्की क्षेत्र नम्बर २ का लागि दलका ११ र स्वतन्त्र १० गरी २१ जना चुनावी प्रतिस्पर्धामा छन् । अन्य जिल्ला भन्दा त्यहाँ चुनावी सरगर्मी बढेको छ ।  यस्तै प्रदेशसभाका लागि उपनिर्वाच हुने भक्तपुर १ (क) मा १९ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । बागलुङ २ (ख) १० र दाङ ३ (ख) मा १४ जना चुनावी प्रतिस्पर्धामा छन्  ।  

मतदान एकै दिन हुने भएपनि आयोगले स्थानीय तहकालागि भने भोलि मात्रै मनोनयन दर्ता गर्ने समय तोकेको छ । स्थानीय तहका लागि उपमहानगरपालिका प्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष गरी ४८ पदका लागि उपनिर्वाचन हुँदैछ ।  

 


प्रतिक्रिया