जनताको चित्त दुखाएर मित्रता कायम हुँदैन : परराष्ट्रमन्त्री ज्ञवाली

कार्तिक ३०, २०७६ | पाल्पा,

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जनताको चित्त दुखाएर मित्रता कायम नहुने बताउनु भएको छ । मित्रताको नाममा अधिकार छाड्ने कुरा पनि नहुने उहाँले बताउनुभयो । साहित्यकार निलकण्ठ न्यौपानेद्वारा लिखित ‘श्रम–साधना’ पुस्तकको तानसेनमा शनिबार विमोचन गर्दै मन्त्री ज्ञवालीले भन्नुभयो, ‘मित्रता र अधिकार सँगसँगै जान्छन् । नेपाली जनताको चित्त दुखाएर मित्रता कायम पनि हुँदैन । यो हाम्रा मित्रहरुले बुझ्न जरुरी छ ।’

भारतले हालै जारी गरेको राजनीतिक नक्साप्रति इङिगत गर्दै साहित्यकार वेनीमाधव ढकालको जिज्ञासामा परराष्ट्रमन्त्री ज्ञवालीले यो सरकारसँग नेपाली जनता ढुक्क हुन र विश्वस्त हनु आग्रह गर्नुभयो । सरकारले यस विषयमा कूटनीतिक पहल सुरु गरिसकेको समेत उहाँले जानकारी दिनुभयो । उहाँले तथ्य प्रमाणको आधारमा मित्रराष्ट्रसँग वार्ता गर्ने मन्त्री ज्ञवालीले बताउनुभयो । विगतमा जनताले तिरेका तिरो, जनगणनाका साथै निर्वाचनमा भाग लिएका आधारमा मात्र मित्र राष्ट्रसँग वार्ता गर्ने मन्त्री ज्ञवालीले बताउनुभयो । 

उहाँले मित्रताको सम्बन्ध चाहाने र मित्रताको कोषबाट अगाडि बढ्ने बताउँदै भन्नुभयो, ‘२०१५ सालमा चुनाव भयो । २०१८ मा गणना भयो । १९९७ सालमा बैतडीमा आएर तिरो तिरेका छन् । ती रसिदहरु हामीसँग छन् ।’ दुई देश मिलेर दुई देशको जनताको हितमा काम गर्ने भन्दै उहाँले नेपालले आफ्नो एकएक इन्च जमिनको रक्षा गर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘मित्रताको नाममा आफ्नो अधिकार छाड्ने भन्ने कुरा हुँदैन । मन्त्री ज्ञवालीले राष्ट्रको भूमिको रक्षा र त्यहाका नागरिकको रक्षा गर्ने काम सरकारको पहिलो काम भएको बताउनुभयो । 

वर्तमान सरकारले सबैको साथ पाएकाले बलियो भएको बताउँदै भन्नुभयो, ‘कुनै अन्यथा हुन्छ कि वा यो मुद्दा बीचमै छुट्छ, विस्तारै सेलाएर जान्छ कि भन्ने नसोचेर निर्धक्क रहनुहोस् ।’ नेपालको एक इन्च जमिनको रक्षा गर्न पनि अहिलेको सरकार तयार भएको उहाँले बताउनुभयो । सत्तापक्ष, प्रतिपक्ष सबै एकै ठाउँमा उभिएकाले ऊर्जा मिलेको भन्दै उहाँले समस्याको समाधान कूटनीतिक ढंगले पहल गर्ने बताउनुभयो । 

‘अहिलेको यो उर्जा इतिहासले बोकाइदिएको हो,’ उहाँले भन्नुभयो, ‘सबै भन्दा ठूलो ऊर्जा मिलेको छ । यो समस्याको समाधान हुन्छ ।’ नेपालको सीमा सुगौली सन्धिले निर्धारण गरेको बताउँदै त्यो सुगौली सन्धिले पूर्वको मेची र पश्चिमको महाकाली भनेको छ त्यसलाई जोगाउन सरकार तयार रहेको बताउनुभयो । 


प्रतिक्रिया