प्राकृतिक प्रकोप व्यवस्थापनको विशेष कार्ययोजना तय गर्न निर्देशन

रेडियो कान्तिपुर संवाददाता

मंसिर ३, २०७६ | काठमाडौं

केन्द्रीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले शितलहर सहित प्राकृतिक प्रकोप व्यवस्थापन र न्यूनीकरणमा विशेष कार्ययोजना तय गर्न तीनवटै तहका संयन्त्रलाई निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको समिति बैठकले आज १८ बुँदे निर्णय गर्दै आवश्यक समन्वय र तयारी गर्न संघ, प्रदेश र स्थानीय तह अन्तर्गतका सरकारी निकायहरुलाई निर्देशन दिएको हो ।

शितलहर, हिमपात, आँधी लगायत जाडोयाममा हुने प्रकोप नियन्त्रण, न्यूनीकरण, खोज उद्धार तथा राहतका लागि प्रभावकारी कार्ययोजना बनाउन आवश्यक रहेको निष्कर्ष सहित समितिबाट पारित भएका निर्णय तीनवटै तहलाई पठाउन बैठकले गृह मन्त्रालयलाई निर्देशन दिइएको छ । 

विपद् व्यवस्थापनको क्षेत्रमा सम्बन्धित जिल्लामा रहेका विभिन्न निकाय तथा संघ संस्थाहरुलाई हिमपात, चिसो तथा शीतलहर सम्बन्धी पूर्व तयारीमा सक्रिय बनाउन भन्दै समितिले जाडोको लागि आवश्यक पर्ने दाउरा तथा काठ समयमै उपलब्ध गराउने गरी आवश्यक तयारी गर्न वन तथा वातावरण मन्त्रालयलाई भनेको छ ।

विगतका समय बढी सक्रिय रहने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तयारी अवस्थामा राख्न आवश्यक व्यवस्था गर्न पनि समितिले सम्बन्धित मन्त्रालयलाई भनेको छ । व्यवस्थापन कार्यकारी समितिले प्रदेशका सबै मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई पूर्व तयारीको व्यवस्था मिलाउने गरी पत्रचार गरिदिने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अनुरोध समेत गरेको छ । 

विपतपछि देखा पर्ने स्वास्थ्य समस्या, कृषिबाली र पशुपंक्षीको क्षति, सम्भावित सवारी दुर्घटना, नदी नियन्त्रणका नाममा तराईमा हुने गरेको डुबानबारे सचेत हुन समेत समितिले सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराएको छ । समितिले केन्द्रीय विपद् ब्यवस्थापन कोषमा १ अर्ब ४५ करोड ७५ लाख २८ हजार ८ सय १३ रुपैयाँ मौज्दात गरेको समेत जानकारी गराएको छ ।


प्रतिक्रिया