महरा प्रकरण : कैफियत प्रतिवेदन पेश गर्न आदेश

रेडियो कान्तिपुर संवाददाता

मंसिर ६, २०७६ | काठमाडौं

उच्च अदालत पाटनले निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्दको बलात्कार प्रयास मुद्दामा ‘कैफियत प्रतिवेदन’ पेश गर्न काठमाडौ जिल्ला अदालतलाई आदेश दिएको छ । मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले महरालाई पुर्पक्षका लागि थुनामा राख्नुको आधार र कारण खुलाएर कैफियत प्रतिवेदन पेश गर्न आज आदेश गरेको हो ।

जिल्ला अदालतको आदेश खारेजीको माग गर्दै महराले हिजो उच्चमा निवेदन दिएका थिए । निवेदनमा थुना बाहिर रहेर मुद्दाको पुर्पक्ष गर्न माग गरिएको छ । कैफियत प्रतिवेदनमा जिल्ला अदालतले महरामाथि लागेको आरोप, तत्काल प्राप्त प्रमाण, अन्य आधार र कारण खुलाएर प्रतिवेदन पठाउँछ । जिल्ला अदालतको प्रतिवेदन र अन्य मिसिलका आधारमा उच्चले महरालाई पुर्पक्षका लागि थुनामा राख्ने भनी भएको आदेश कानूनसम्मत थियो वा थिएन भन्ने विवेचना गर्नेछ । 

संघीय संसद् सचिवालयमा कार्यरत कर्मचारीमाथि बलात्कार प्रयास गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले महरालाई गत कात्र्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाएको हो । पीडित महिलाको किटानी जाहेरीपछि महरा गत असोज १९ गते काठमाडौंको बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ परेका हुन् । उनी हाल डिल्लीबजारस्थित कारागारमा छन् । 

 


प्रतिक्रिया