धरानमा कांग्रेस र समाजवादीले उतार्‍यो ‘हेवी वेट’ नेताहरु 

मंसिर ७, २०७६ | सुनसरी 

सत्तारुढ नेकपाले चुनावी घरदैलो अभियान चलाउँदा चोकस्तरीय स–साना कोणसभामा पार्टीका हेवीवेट नेताहरुबाट सम्बोधन गराउन उचित नठानीरहेको बेला कांग्रेसका अधिकांश नेताहरु पालै पालो घरदैलोमा हिँडिरहेका छन् । 

नेकपाले आफ्नो उम्मेदवार प्रकाश राईलाई जिताउन प्रदेश १ को धरान सुनसरीमै थातथलो भएका केही केन्द्रीय नेताहरुलाई मात्र धरानको चुनावी महौलमा सहभागी गराएर घरदैलो कार्यक्रमलाई तीब्र बनाएको छ । तर, कांग्रेसले पार्टीमा भएजति सबै प्रभावशाली नेताहरुलाई पालै पालो उरालेर चोकचोकमा घुमाउँदै भोट मागिरहेको छ ।

कांग्रेसले धरानको उपनिर्वाचनमा प्रमुख पद जित्नका लागि भएभरको शक्ति र मेहेनत लगाएको छ । तिलक राईलाई जिताउन धरानमा सिंगो पार्टीका नेताहरु लागेका छन् । आफ्नो उम्मेदवार तिलक राईलाई जिताउन कांग्रेसबाट अब धरानमा शेर बहादुर देउवा, गगन थापा, भिष्मराज आङ्देम्बे, प्रकाशमान सिंह र मिनेन्द्र रिजाल मात्र आउन बाँकी छ । 

चुनावी माहौलका बीच घरदैलो अभियान केही वडामा मात्र सीमित हुँदै आएको पछि झन पेचिलो बन्दै गएको बेला कांग्रेसी प्रभावशाली नेताहरुले नेकपा सरकारको विरुद्ध भाषणबाजी गरेर मतदाता तान्न भरमग्दुर प्रयास गरिरहेका छन् ।

धरानमा एकसाता भित्र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शसांक कोइराला, पार्टी उपसभापति विजय गच्छदार, प्रवक्ता विश्व प्रकाश शर्मा, पूर्व महामन्त्री कृष्ण सिटौला, केन्द्रीय सदस्य शेखर कोइराला, कोषाध्यक्ष गुरुराज घिमिरे, पूर्व अर्थमन्त्री महेश आचार्य, डिला संग्रौला, सरिता प्रसाईं, पूर्व अर्थ मन्त्री ज्ञानेन्द्र कार्कीले समेत तिलक राईसँगै घरदैलो गरेर भोट मागे । कांग्रेस उम्मेदवार तिलक राईसँग घरदैलो अभियानमा सहभागी नेताहरुले चुनावी भाषणमा केन्द्रीय स्तरमा भन्दा स्थानीय समस्यामै केन्द्रित रहेर आफ्ना धारणा व्यक्त गर्दै आएका छन् ।  

कांग्रेसलाई यो उपनिर्वाचनमा रिक्त रहेको धरानको प्रमुख पद जसरी पनि जित्नै पर्ने दबाब रहेकाले केन्द्रीय स्तरका प्रभावशाली नेताहरुको आगमन बाक्लो बनाएको धरान नगरसचिव श्याम पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कांग्रेसमा भएका प्रभावशाली केन्द्रीय नेताहरु नै भोटमाग्न घरदैलोमा हिँडेपछि त्यसको सन्देश मतदातामा सकारात्मक देखिएको छ ।’ उहाँले मुख्य आमसभा १० गतेका दिन पार्टी सभापति शेरबहादुर देउवा, गगन थापा, भिस्मराज आङ्देम्बे, अर्जुन नरसिंह केसी, मिनेन्द्र रिजाल लगायतले सम्बोधन गर्ने बताउनुभयो । 

नेकपाबाट भने आफ्ना उम्मेदवार प्रकाश राईलाई जिताउन हालसम्म पार्टीका केन्द्रीय प्रभावशाली नेताहरु आएका छैनन् । निर्वाचन परिचालन समितिका सह संयोजक मुरारी सुवेदीले भन्नुभयो, ‘धरानको उपनिर्वाचनमा मेयर पद जित्नका लागि केन्द्रीय नेताहरु ल्याउन जरुरी ठानेनौँ । उहाँहरुलाई ल्याएर चोक चोकमा हुने साना सना कोणसभामा भाषणबाजी गर्न उपयुक्त पनि ठानेनौं ।’

उहाँले प्रकाश राईलाई जिताउनका लागि धरान नै चुनावी क्षेत्र भएका प्रदेश इन्चार्ज भीम आचार्य, केन्द्रीय सदस्य समेत रहेका सुनसरी इन्चार्ज धर्मराज निरौला, केन्द्रीय सदस्य तिलकुमार मेन्याङ्बो, नेकपा प्रदेश अध्यक्ष देवराज घिमिरे, सुरेश राई, गुरु बराल नै काफी भएको बताउनुभयो । उहाँका अनुसार मंसिर ११ गते अन्तिम चुनावी आम सभामा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र उपनेता सुभासचन्द्र नेम्बाङले सम्बोधन गर्ने छन् । 

धरानको चुनावी अंक गणित अनुसार तेश्रो शक्तिको रुपमा रहेको समाजवादी पार्टीका उम्मेदवार गजेन्द्र इस्वोलाई जिताउनका लागि पाँच दिन अघि देखि नै वरिष्ठ नेता अशोक राई, उपाध्यक्ष रकम चेम्जोङ र महासचिव रनध्वोज कन्दङ्वा सक्रिय भएका छन् । समाजवादीका धरान नगर अध्यक्ष ताजुव लिम्बुले भन्नुभयो, ‘केन्द्रीय नेताहरु पाँच दिन देखि धरानमै चुनावी रणनीति बनाउन सक्रिय रहनु भएको छ ।’ समाजवादी पार्टीले पहिचानको मुद्दासँग जोडेर धरानका विभिन्न जातीय संघसंस्थाका पदाधिकारीहरुसँग भोट मागिरहेको छ । 


प्रतिक्रिया