धरानमा उपनिर्वाचनको तयारी पूरा

मंसिर ९, २०७६ | सुनसरी

सुनसरीको धरानस्थित निर्वाचन अधिकृतको कार्यालयले उपनिर्वाचनका लागि अन्तिम चरणको तयारी पूरा भएको जनाएको छ । उपनिर्वाचनका लागि चाहिने मतपत्र, मतपेटिका, स्वस्तीक चिन्ह, छेकाबारा, लगायत ५६ प्रकारका सामग्री प्राप्त भइसकेकाले अन्तिम चरणको तयारी पूरा भएको जनाएको हो । रिक्त रहेको धरान उपमहानगरपालिकाको प्रमुख पद र वडा ७ को वडाध्यक्ष पदका लागि मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । 

धरानमा हुने यसपटकको उपनिर्वाचनमा फोटोसहितको मतदाताको नामावलीको सूची पुस्तिका मतदान स्थल र केन्द्रमा रहने दलका प्रतिनिधिहरुले राख्न नपाउने भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका प्रमुख राधाकृष्ण उप्रेतीका अनुसार फोटो सहितको मतदाताको नामावलीको सूची पुस्तिका निर्वाचन अयोगले खटाएका कर्मचारीसँग एक प्रतिमात्र रहने व्यबस्था भएको छ । उहाँले भन्नुभयो, ‘मतदान स्थाल र केन्द्रमा दलहरुले खटाएका प्रतिनिधिहरुसँग फोटो बिनाको नामावलीको सूची पुस्तिका मात्र हुने व्यबस्था गरिएको छ ।’  

निमित्त जिल्ला निर्वाचन अधिकारी अजय मिश्रका अनुसार निर्वाचन तयारीसँगै धरानका २८ मतदान स्थलको ९९ सय मतदान केन्द्रमा खट्ने ९९ सय जना मतदात अधिकृत र ९९ जना सहायक अधिकृतलाई तालिम जारी रहेको छ । निर्वाचन आयोगले धरानका विभिन्न टोलमा आफ्ना स्वयम् सेवक मार्फत मतदाता शिक्षा मंसिर ११ गतेसम्मका लागि जारी राखिएको छ ।

उहाँका अनुसार हरेक केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक अधिकृत, २ जना सहायक कर्मचारी र एकजना सहयोगी गरी पाँच जना खट्ने छन् । धरान १५ स्थित पुस्पलालमार्गमा रहेको युरेशियाको भवनमा निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेकाले मतदान भइसकेपछि सोही भवनमै मतगणना गरिने आयोगले जनाएको छ ।

धरानका कुल मतदाता ९२ हजार ८ सय ५३ जनाले मतदान गर्ने मतदान स्थलहरुमा नेपाल प्रहरीका ७ सय ९० जना, शसस्त्र प्रहरी बलका १ सय ६० जना परिचालित हुने प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद पौडेलले बताउनुभयो । नेपाली सेना भने आवश्यकता अनुसार खट्ने बताइएको छ ।

मतदाता, मतदान स्थल र केन्द्रको सुरक्षाका लागि आवश्यकता अनुसार १० देखि २३ जनासम्म प्रहरी, शसस्त्र प्रहरी र सेनालाई तैनाथ गरिने प्रजिअ पौडेलले बताउनुभयो । उहाँले संवेदनशील स्थल र केन्द्रमा सोही अनुसार तयारी भएको पनि बताउनुभयो । 


प्रतिक्रिया