उपनिर्वाचन बहिस्कारको तयारी गरिरहेका ९ पक्राउ 

मंसिर ९, २०७६ | सुनसरी

आगामी शनिबार हुने उपनिर्वाचन बहिस्कारको तयारी गरिरहेको ९ जनालाई सुनसरीको धरान १ स्थित छाता चोकबाट प्रहरीले पक्राउ गरेको छ । उपनिर्वाचनका लागि निर्वाचन आयोगले अन्तिम तयारी गरिरहेको र दलहरु चुनावी मैदानमा आफ्नो उम्मेदवार सहित घरदैलोमा व्यस्त भएको बेला उपनिर्वाचन बाहिस्कार गर्न खोज्ने ९ जनालई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुमा उदयपुर घरभई धरानको एभरेष्ट लाइनमा बस्ने टिकाराम राई, तेहथुम म्याङलुङ २ घर भई धरान १५ गोविन्द मार्गमा बस्ने पारस लिम्बु, धरान १४ पिण्डेश्वर बस्ने रामबहादुर पौडेल, धनकुटाको छथर– २ शुक्रबारे बस्ने मोहन लिम्बु, इटहरी १९ तरहरा बस्ने पदम तामाङ छन् ।

यस्तै, धरान  १४ विजयपुर बस्ने गौरव राई, झापाको कमल गाउँपालिका–२ तोपगाछी बस्ने जय आचार्य, इटहरी २ तालतलैया बस्ने सन्तोष ठाकुर रहेको रहेको प्रहरीले जनाएको छ । उनीहरु सिपी गजुरेल अध्यक्ष रहेको देशभक्त जनगणतान्त्रिक मोर्चाको नेता कार्यकर्ता भएको प्रहरीले बताएको छ । पक्राउ परेका मध्ये ३ जना केन्द्रीय सदस्य र ६ जना प्रदेश सदस्य हुन् । 

इलाका प्रहरी कार्याल धरानका प्रहरी नायव उपरीक्षक ढुण्डिराज न्यौपानलेका अनुसार भारतले कालापानीमा नेपाली सीमा अतिक्रमण गरेको विषयमा धरानको छाताचोकस्थित पुरानो अस्पताल परिसरमा कोणसभा गर्ने भनेपनि उनीहरुले उपनिर्वाचन बहिस्कारको कार्यक्रम तयारी गर्न थालेपछि पक्राउ गरिएको हो ।

प्रहरीले उनीहरुका साथबाट ‘संसदीय उपचुनावको बहिस्कार गरौ, संघीय जनगणतन्त्रको दिशामा अघि बढौं’ भन्ने नारा लेखिएको १५ थान पर्चा, एउटा साउन्ड बक्स, एउटा वारलेस माईक बरामद गरेको छ । उपनिर्वाचन बहिस्कार गर्ने कार्यक्रम रोक्न प्रहरीले हस्तक्षेप गर्दा प्रहरीमाथि नै दुव्र्यवहार गरेकाले पक्राउ गरिएको उहाँले बताउनुभयो ।

पक्राउ परेका सबैलाई दुव्र्यवहार गरेकाले सुनसरी जिल्ला प्रशासन कार्यालयमा सोमबार नै म्याद थप गरी अभद्र ऐन अन्तर्गत कारवाही गर्न थप अनुसन्धानका लागि हिरासतमा लिएको प्रहरी नायव उपरीक्षक न्यौपानेले बताउनुभयो । 


प्रतिक्रिया