नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द

मंसिर २७, २०७६ | काठमाडौं

पहिरो रोकथामका लागि भन्दै आजबाट नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द हुन थालेको छ । पहिरो रोकथामका लागि काम गर्न सवारी साधन रोक्नु परेकोले सो सडकखण्ड आजदेखि बिहान ११ बजेबाट अपरान्ह ३ बजेसम्म दैनिक ४ घण्टा यातायात बन्द गरिएको नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सुरक्षा समितिको बैठकले विभिन्न ८ ठाउँमा पहिरो रोकथामको काम गर्न पर्ने भन्दै दुई सातासम्म यातायात सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो ।

आयोजनाका सूचना अधिकारी समेत रहेका इन्जिनियर शिव खनालका अनु्सार, चारकिलो, टोपेखोला, कालीखोला गाईघाट, घुमाउने, भालुढुंगा, जलबिरे मन्दिर छेउ, १८ किलो क्षेत्रमा पहिरो रोकथामको काम हुन बांकी छ । ३६ किलोमिटर लामो सो सडक खण्डमा यसअघि २ दर्जन ठाउमा पहिरो रोकथामका लागि आधुनिक प्रविधि प्रयोग गरिएको थियो ।

काठमाडौंबाट जाने मालबाहक सवारी साधनलाई लेवाटार र पोखराबाट आउनेलाई आँबुखैरेनीमा, काठमाडौंबाट जाने हलुका सवारी साधनलाई मुग्लिन बजारमा र पोखराबाट आउनेलाई बेनीटारमा रोकिनेछ । नारायणगढबाट आउने मालबाहक सवारी साधन भने दासढुंगा र हलुका सवारी साधनलाई पन्ध्रकिलो बजारमा रोकिने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ ।  


प्रतिक्रिया