गुणस्तरीय शिक्षा दिन नसक्नेले पेसा परिवर्तन गर्नुस् : मन्त्री पोखरेल

मंसिर २८, २०७६ | विराटनगर

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले गुणस्तरीय शिक्षा प्रदान गर्न नसक्ने शिक्षकलाई पेसा परिवर्तन गर्न निर्देशन दिनु भएको छ । प्रेस संगठन मोरङले शनिबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले शिक्षक आफै अद्यावधिक भएर गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने हैसियतमा बस्नुपर्ने बताउनुभयो ।

‘देश र विदेशमा भइरहेको नवीनतम खोज लगायतका विषयमा अद्यावधिक भएर गुणस्तरीय शिक्षा दिन शिक्षकलाई सक्षमता प्रदर्शन गर्ने बेला आएको छ,’ उहाँले भन्नुभयो, ‘विद्यालयमा शिक्षक अद्यावधिक नभएको अवस्थामा अहिलेका सचेत विद्यार्थीले कक्षाबाट आउट गर्ने अवस्था निर्माण हुन्छ ।’ विद्यालय जागिर खाने थलो मात्रै नभई यसलाई विकाससँग जोड्न सक्ने गुणस्तरीय शिक्षा दिने थलो बनाउन शिक्षकहरुलाई पोखरेलले निर्देशन दिनुभयो ।

 शिक्षकलाई योग्य बनाउन आवश्यक सेवा र सुविधा दिन सरकार तयार रहेको समेत उहाँले उल्लेख गर्नुभयो । मन्त्री पोखरेलले मुलुकमा विद्यालय तहदेखि उच्च शिक्षा सम्मको मूल्यांकन पद्धति परिवर्तन गर्नुको विकल्प नभएको बताउनुभयो ।

२०८५ सम्ममा आधारभूत शिक्षा प्राप्त नगर्नेलाई बैंक खाता खोल्न नपाइने र स्थानीय तहबाट कुनै किसिमको सेवा सुविधा नपाउने नीति ल्याएकोले सबैलाई यसतर्फ सचेत रहन पोखरेलको आग्रह थियो ।

अब प्रत्येक नागरिकले एउटा सीप सिक्नैपर्ने शैक्षिक नीति ल्याएको उहाँले उल्लेख गर्नुभयो । पहिले शिक्षा सम्बन्धी नीति ल्याएर अब संसदको चालू अधिवेशनमा नै उच्च, साधारण र प्राविधिक तथा व्यवसायिक शिक्षा सम्बन्धी तीन वटा छुट्टाछुट्टै ऐन ल्याउन लागेको उहाँले जानकारी दिनुभयो । 

मन्त्री पोखरेलले मुलुकका सबै विश्वविद्यालयले अब चाँडै नेतृत्व प्राप्त गर्ने बताउनुभयो । उपकुलपतिको सिफारिस आफूले गरिसकेकोले अब चाँडै नियुक्त हुने उहाँको भनाई थियो । 


प्रतिक्रिया