विदेशी र नेपालीलाई अलग–अलग भाडादर हुँदैन : मन्त्री भट्टराई

रेडियो कान्तिपुर संवाददाता

मंसिर २९, २०७६ | पोखरा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हवाई क्षेत्रमा विदेशी र नेपालीलाई अलग–अलग भाडादर हटाउने तयारी गरिरहेको बताउनुभएको छ । पोखरामा जारी साहित्य महोत्सवमा बोल्दै मन्त्री भट्टराईले असमान भाडादर हटाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

एयरलाइन्स कम्पनीसँग पर्यटनमन्त्रीको ‘सेटिङ’ले दुई थरी भाडादर कायम भएको भन्ने एक सहभागीको जिज्ञाशामा भट्टराईले भन्नुभयो, ‘मेरो सेटिङले होइन, यो पहिलेदेखिको सेटिङले भएको हो ।’ उहाँले एयरलाइन्स कम्पनीसँगकै सहमतिमा अलग भाडादर हटाउने निर्णय कार्यान्वयन गरिने उल्लेख गर्नुभयो । 

महोत्सवमा ‘अबको नेतृत्व कस्तो ?’ शीर्षकको सेसनमा मन्त्री भट्टराईसँगै कांग्रेस नेता गगन थापा र साझा पार्टीका संयोजक रवीन्द्र मिश्र हुनुहुन्थ्यो । उहाँहरुसँग पत्रकार उमेश चौहानले छलफल चलाउनुभयो ।

फेवाताल किनारको बाराहीघाट मैदानमा महोत्सव भइरहेको छ । महोत्सवमा साहित्य, कला, राजनीति लगायत विविध विषयमा दिनभर छलफल हुन्छन् । महोत्सव सोमबार सकिन्छ । 


प्रतिक्रिया