गाउँपालिकाको लापरबाहीले १२ सय वृद्धवृद्धा भत्ताबाट वञ्चित

पुस २, २०७६ | सिरहा

स्थानीय तहको लापरबाहीका कारण सिरहाका १२ सय जना वृद्धवृद्धा सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित भएका छन् । समयमै भत्ता वितरण नहुँदा रकम फ्रिज भएपछि सिरहाको भगवानपुर गाउँपालिकाका १२ सय जना वृद्धवृद्धाले अघिल्लो आर्थिक वर्षकैं भत्ता पाउन सकेको छैन ।

 गाउँपालिकाका कर्मचारीको लापरबाही र गाउँसभा समयमा नहुँदा रकम निकासा समेत हुन सकेको छैन । सो गाउँपालिकामा ज्येष्ठ नागरिक, दलित, एकल महिला, आंशिक र पूर्ण अपांगता भएका समेत गरी १ हजार २ सय १५ जनाले आर्थिक वर्ष २०७५/०७६ का दुई किस्ता बापत ८ महिनाको भत्ता रकम पाएका छैनन् ।

गाउँपालिकाका कर्मचारीले गत वर्षको सामाजिक सुरक्षा भत्ता समयमा निकासा नगरिदिंदा भत्ता रकम फ्रिज भएको थियो । यस आर्थिक वर्षको साउनदेखि कात्र्तिक सम्मको चार महिना सामाजिक सुरक्षा भत्ता रकम पाएपनि गतवर्षको आठ महिनाको रकम नपाएपछि भत्ता रकम माग गर्दै गाउँपालिका कार्यालय घेराउ गरेका थिए । पटक–पटक भत्ता रकम वितरण गर्न माग गरेपनि सुनुवाई नभएपछि सामूहिक रुपमा भेला भएर वृद्धवृद्धा गाउँपालिका कार्यालय पुगेका थिए ।

एक वर्षअघिकै ८ महिनाको भत्ता नपाएको भन्दै भगवानपुर २ नरहाका ७६ वर्षीय सिल्टु यादव दम्पत्ती विल्टी सहित लठी टेकेर वृद्धवृद्धाको र्‍यालीमा सहभागी भई गाउँपालिका कार्यालय घेराउ गर्न पुगे । ‘आठ महिनाको भत्ता रकम पाएका छैनौं’ सिल्टुले भने ‘यो कात्तिकको समेत १२ महिनाको मासिक भत्ता पाउनुपर्नेमा कर्मचारीले चार महिनाको मात्रै रकम दिए, तर पोहोर सालकैं आठ महिनाको रकम कर्मचारीले दिएनन् ।’ आठ महिनाको रकम नपाएपछि कर्मचारीले गायब गरेको भन्दै वृद्धवृद्धाको र्‍यालीले मंगलबारदेखि गाउँपालिका कार्यालय घेराउ गरेका हुन् ।

गाउँपालिका कार्यालय घेराउमा सहभागी भगवानपुर ४ ठाडीका वृद्ध दम्पत्ती ७३ वर्षीय ध्यानी पासवान र गलीयादेवीले भत्ता रकम नपाएकैं कारण गुजारा चलाउन समस्या भएको गुनासो पोखे । ध्यानी दम्पत्तीका ५ छोरी थिए । छोरीहरुको विवाह भएर गएपछि ध्यानीले जेठी छोरी जीतियाका सन्तान नाती पवनलाई साथैमा राखे । पवनले घर बनाउने राजमिस्त्री काम गरेर ध्यानी दम्पत्तीको हेरचाह गर्छन ।

‘सुकुम्बासी छौं, नातीले हेरचाह गर्छन, वृद्ध भत्ता पैसाले हामीलाई जसोतसो खान पुगेको थियो’ ध्यानी दम्पत्तीले भने ‘त्यही रकम पनि आठ महिनाको कर्मचारीले दिएका छैनन् ।’ आठ महिनाको सामाजिक सुरक्षा भत्ता रकम पाउनबाट वञ्चित वृद्धवृद्धाले कर्मचारीको लापरवाहीले आफूहरु भत्ता रकम नपाएको गुनासो पोखे ।

आर्थिक सामाजिक रुपमा पछाडि परेका वर्ग, क्षेत्र र समुदायका नागरिकलाई सामाजिक सुरक्षा कार्यक्रम मार्फत सामाजिक संरक्षण प्राप्त गर्न, सामाजिक सुरक्षा भत्ता प्रणाली व्यवस्थित गर्न, भत्ता वितरण कार्यक्रममा प्रभावकारिता ल्याउन तथा नियमन गर्न आवश्यक भएकाले सुशासन नियमावली २०६५ को नियम ९ अनुसार २०७५ साउन २३ गते सरकारको मन्त्री स्तरको बैठकले सामाजिक सुरक्षा कार्यक्रम संचालन कार्यविधि २०७५ स्वीकृत गरी लागू गरेको थियो ।

कार्यविधिले सामाजिक सुरक्षा भत्ता वितरणको समग्र प्रणालीलाई सरलीकरण गर्ने, भत्ता वितरण व्यवस्थापनमा स्थानीय तहको भूमिका स्पष्ट गर्ने, भत्ता वितरणमा बैंकिंग क्षेत्रको संलग्नता अभिवृद्धि गर्ने, वितरण कार्यको प्रभावकारी अनुगमन तथा मूल्यांकन गर्ने र भत्ता वितरण प्रणालीमा पारदर्शीता कायम गर्ने उद्देश्य लिएको छ ।

कार्यविधिको दफा १६ मा भत्ता रकम वितरण व्यवस्था गरेको छ । सोही दफाको (क) मा स्थानीय तहले सम्बन्धित वडा कार्यालय मार्फत प्रथम चौमासिक असोजको १ गतेबाट दोस्रो हप्ताभित्र, दोस्रो चौमासिक माघको १ गतेबाट दास्रो हप्ताभित्र र तेस्रो चौमासिक जेठको १ गतेबाट दोस्रो हप्ताभित्र वितरण गरिसक्नुपर्ने स्पष्ट उल्लेख गरेको छ ।

सोही दफामा भत्ता वितरण गर्दा सम्बन्धित व्यक्तिलाई मात्र वितरण गर्नुपर्ने वा निजको व्यक्तिगत नाममा बैंकमा खोलिएको सामाजिक सुरक्षा विशेष वचत खातामा उल्लेखित म्यादभित्र जम्मा गरीदिनुपर्ने र भत्ता पाउने व्यक्तिले सोही आर्थिक वर्षभित्र रकम बुझिसक्नुपर्ने स्पष्ट उल्लेख भएपनि भगवानपुर गाउँपालिकाका वृद्धवृद्धा आठ महिनाको भत्ता रकम पाउनबाट बञ्चित छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुजित कुमार यादवले गतवर्ष आर्थिक मसान्तभित्रै भत्ता रकम दाखिला हुन नसक्दा फ्रिज भएकाले आठ महिनाको रकम वितरण गर्न नसकिएको बताउनुभयो । उहाँले गाउँपालिकामा कर्मचारी अभाव र गतवर्ष जनप्रतिनिधिको खिचातानीका कारण समयमा गाउँसभा हुन नसक्दा पनि समस्या भएका कारण सामाजिक सुरक्षा भत्ता रकम फ्रिज हुन गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आफू २०७५ बैशाखमा हाजिर भए, त्यत्तिखेरसम्म गाउँसभा हुन सकेको थिएन ।’ एकातिर कर्मचारी अभाव थियो, हतारमा गाउँसभा गरेर योजनाका काम गर्दा सामाजिक सुरक्षा भत्ता रकम समयमा वितरण गर्न नसकेको उहाँले स्वीकार गर्नुभयो । फ्रिज भएको भत्ता रकम निकासाका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा माग गरेको उहाँले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष वेचन प्रसाद यादवले गत आर्थिक वर्षको ८ महिनाको सामाजिक सुरक्षा भत्ता रकम फ्रिज भएका कारण वितरण गर्न नसकिएको बताउनुभयो । ‘भत्ता रकम फ्रिज हुनुमा कर्मचारीको लापरबाही देखिएको छ’ उहाँले भन्नुभयो, ‘आठ महिनाको रकम निकासाका लागि पहल भइरहेको छ ।’

यसैबीच, कांग्रेस भगवानपुर गाउँपालिका समितिले सामाजिक सुरक्षा भत्ता वितरणको माग गर्दै गाउँपालिका कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।


प्रतिक्रिया