उम्मेदवार तय भएलगत्तै राजीनामा : उपसभामुख

माघ १, २०७६

प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सभामुखको उम्मेदवार तय हुनेबितिकै आफूले राजीनामा दिने बताउनु भएको छ । 

रसुवाको बेत्रावतीमा गोसाइँकुण्डमा आयोजित गोरु जुधाइ प्रदर्शनीमा उहाँले सभामुख पदको दाबी गर्ने दलले उम्मेदवार तय गर्ने बितिकै आफूले उपसभामुख पदबाट राजीनामा दिने बताउनुभयो । 

सभामुख बन्नको लागि निर्वाचनका सबै प्रक्रिया पूरा गरेर प्रतिनिधिसभाको जेष्ठ सदस्यले अध्यक्षता गर्ने सबै व्यवस्था गरिसकेपछि राजीनामा दिने उहाँले बताउनुभयो । 

संविधान अनुसार नै काम गरिरहेकाले आफू सभामुख चयनको बाधक नभएको पनि उहाँले बताउनुभयो । सभामुख पदमा आफ्नो पनि पहिलो दाबेदारी रहेको भन्दै उहाँले आफू दलको सदस्य समेत नभएकाले दलले के गर्छ थाहा नभएको उल्लेख गर्नुभयो । 

सत्तारुढ नेकपाले सभामुखका लागि उम्मेदवार तय गर्न नसक्दा प्रतिनिधिसभा बैठक पटकपटक सूचना टाँसेर स्थगित हुँदै आएको छ । 

नेकपा भित्रको गुटगत स्वार्थका कारण पाँचौ अधिवेशन सुरु भएको महिना दिन बितिसक्दा समेत बैठक बस्न सकेको छैन । 

सत्तारुढ दलले सभामुखको उम्मेदवार तय गर्न नसकेको अवस्थामा अर्को कुनै दलले राजीनामा देउ भनेर निर्देशन दिन नमिल्ने उपसभामुख तुम्बाहाङ्फेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘संविधानले जे गर भनेको छ,म त्यही गर्छु ।’



प्रतिक्रिया