हिमपहिरोका कारण वेपत्ता भएकाको खोजी कार्यमा समस्या

माघ ५, २०७६ | काठमाडौं

बाक्लो हिमपात र हुस्सुको कारण कास्कीको अन्नपूर्ण आधारशिविर एबीसी पदमार्गमा हिमपहिरोमा परेका ७ जनाको खोजी कार्य हुन सकेको छैन । खोजी र उद्धारका लागि गएका हेलिकप्टर घटनास्थलमा पुग्न सकेका छैनन् भने स्थलमार्गबाट गएको टोलिसमेत पुग्न नसकेको पर्यटन विभागकी निर्देशक निरा आचार्यले जानकारी दिनुभयो ।

हिमपहिरोमा ४ कोरियाली पर्यटक र ३ नेपाली बेपत्ता भएको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिनुभयो । वेपत्ता हुनेमा कोरियन पर्यटकहरु लि मिन सु, जोङ पिल बोङ, किम सुक जा र चोइ ह्यो, नेपाली गाईड वाङदक भोटे, सरोज परियार र भरिया मेनबहादुर तामाङ छन् । 

हिउ नपग्लेसम्म उद्धार गर्न नसकिने अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्ष हिम गुरुङले बताउनुभयो । सोही वडाको हिमालय र देउराली बीचको हिङकु केभमा शुक्रबार बिहान ११ बजेतिर हिमपहिरो गएको थियो । 

यसअघि हिजो एविसी, माछापुच्छ्रे आधारशिविर (एमबीसी), देउरालीलगायत स्थानबाट वर्षा र हिमपातमा फसेका करिब २ सय जना पर्यटक र गाइडलाई हेलिकप्टर प्रयोग गरेर उद्धार गरिएको थियो ।

उता मनाङको अन्नपूर्ण सर्किट पदमार्गको गन्तव्य थोराङला भन्ज्याङ पार गर्न हिडेका ४ चिनियाँ नागरिक अझै सम्पर्कमा आएका छैन । उनीहरु हिमपहिरोमा भने नपरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले दाबी गरेको छ । 


प्रतिक्रिया