मुख्यमन्त्री शालिन्, मन्त्रीहरु बेलगाम : प्रमुख प्रतिपक्ष

माघ ६, २०७६ | धनगढी

सुदूरपश्चिम प्रदेशसभाको पाँचौ तथा हिउँदे अधिवेशन सोमबारदेखि सुरु भएको छ । पहिलो दिनकै बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेताले सरकारको कार्यशैली प्रति कडा आलोचना गरेका छन् । 

प्रदेशसभामा प्रतिनिधित्व गर्ने तीनवटै राजनीतिक दलका प्रमुख नेताहरुले सोमबारको बैठकमा धारणाहरु राखेका छन् । कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले प्रदेश सरकारले प्रदेशसभालाई आफ्नो मातहतको महाशाखाको रुपमा ब्यवहार गरिरहेको महसुस भएको बताउनुभयो ।

‘संसद बैठकमा उठेका सवालहरुलाई विगतमा सरकारले कुनै वास्ता नै नगरेको देखिन्छ,’ नेता रावलले भन्नुभयो, ‘केहि मन्त्रीहरु बिना लगामाका घोडा जस्ता देखिन्छन् । मुख्यमन्त्री बढ्ता शालिन भएर यसो भएको हो कि भन्ने लाग्दैछ ।’

कांग्रेस नेता रावलले सरकारको चर्को आलोचना गरेका हुन् । ‘केहि मन्त्रीहरु लोकतान्त्रिक मूल्यमान्यता नाघेर काम गरिरहेका छन्’ उहाँले भन्नुभयो, ‘केही मन्त्रीहरु बिना लगामका घोडा जस्ता देखिन्छन् । मुख्यमन्त्री मुकदर्शक ।’

उहाँले कतिपय योजनामा आर्थिक अनियमितता भएको दाबी गर्नुभयो । एम्बुुलेन्स र अल्ट्रासाउण्ड खरिद प्रकृयामा अनियमितता गरिएको बताउँदै छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने उहाँको भनाई छ । राजपा सांसद मालमती रानाले पनि विधेयक कार्यान्वयनको पाटो सुस्त रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘सरकारले जनताको पक्षमा राम्रो काम गर्न सकेको छैन । सुरुका दिनमा सिक्दैछौ भनेर चित्त बुझायौं । अब त्यसो भन्ने अवस्था होइन ।’

सत्तारुढ दल नेकपाका प्रमुख सचेत तारा लामा तामाङले सरकारको काम गर्ने शैली पुरानै ढर्राको देखिएको उहाँको भनाई थियो । 

‘सुधार गरेर लैजानु पर्छ, उहाँले भन्नुभयो, ‘मन्त्रालयहरुले आपसमा समन्वय गरेर काम गर्न जरुरी छ । जनतालाई सरकार छ भन्ने अनुभूति हुनेगरी काम गर्नुृपर्छ ।’

 चौंथो अधिवेशनसम्म प्रदेशसभाबाट ३२ वटा विधेयक पारित भएका छन् । प्रदेशसभामा तीन वटा विधेयक दर्ता भएका प्रदेशसभा सचिवालयले जनाएको छ ।


प्रतिक्रिया