प्रदेश १ लोकसेवा आयोगको अध्यक्षमा भट्टराईको नाम सिफारिस

माघ ६, २०७६ | विराटनगर

प्रदेश १ को प्रदेश लोकसेवा आयोगमा अध्यक्ष र दुई सदस्यको नाम सिफारिस भएको छ । 

आयोगको अध्यक्षमा खोटाङका उत्तमकुमार भट्टराई तथा सदस्यद्वयमा टीकादत्त राई र सीमा आभाषको नाम सिफारिस गरिएको सिफारिस समितिका सदस्य समेत रहेका प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइरालाले जानकारी दिनुभयो । 

प्रदेश १ को लोकसेवा आयोग गठनसम्बन्धी ऐन २०७५ अनुसार मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदिपकुमार भण्डारी र प्रमुख प्रतिपक्षी दलका नेता कोइराला रहेको सिफारिस समितिले उनीहरुको नाम सिफारिस गरेको हो । 

नियुक्तिका लागि सिफारिस भएका तीन सदस्यमध्ये आभाष कांग्रेसबाट परेको कोइरालाले बताउनुभयो । भट्टराई पूर्वकृषि सचिव र राई प्रदेश १ मुख्यमन्त्री कार्यालयका सचिव हुन् । 

आयोगमा नियुक्ति पाउने भएसँगै भट्टराईले राजीनामा दिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ । उनीहरुको सपथ ग्रहण भोलि हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ । 


प्रतिक्रिया