राष्ट्रियसभा निर्वाचन : गण्डकीमा मतदान जारी

माघ ९, २०७६ | पोखरा

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा बिहीबार मतदान जारी छ । राष्ट्रियसभा निर्वाचनमा प्रदेश सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहेका छन् । प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहको मतदाताको मतभार १८ कायम गरिएको छ ।

 गण्डकी प्रदेशमा स्थानीय तहका १७० र प्रदेशसभाका ६० मतदाता छन् । मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ, सभामुख नेत्रनाथ अधिकारी, उपसभामुख श्रृजना शर्मा र कास्की फुटबल संघका अध्यक्षमाथि झापड हानेर पछिल्लो समय चर्चामा आएका प्रदेशसभा सदस्य दिपक मनाङे भनिने राजिव गुरुङले मतदान गरिसकेका छन् ।

राष्ट्रियसभाको २ सदस्यका लागि गण्डकी प्रदेशमा ५ उम्मेदवारी चुनावी मैदानमा छन् । अन्यबाट नेकपा प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र नेकपाकै भगवती न्यौपाने अन्य र महिला समुहबाट उम्मेदवार छन् । यसैगरी कांग्रेसबाट सूर्यप्रसाद रेग्मी र विमला गौचन अन्य र महिला समुहबाट उम्मेदवार छन् ।

राष्ट्रिय जनमोर्चाको तर्फबाट पनि शंकरप्रसाद बरालले उम्मेदवारी दिएका छन् । गण्डकी प्रदेशबाट सुरेन्द्रराज पाण्डे र विन्दादेवी आले (राना) को पदावधि सकिन लागेकाले निर्वाचन भएको हो । पदावधि सकिन लागेका दुवै सांसद कांग्रेसका हुन् । 


प्रतिक्रिया