सोनाम ल्होछार मनाइँदै

माघ १०, २०७६ | काठमाडौं

तामाङ समुदायको सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष प्रवेश हुने गर्छ । मञ्जुश्री पात्रो शुरु भएको २८५६औँ वर्ष पूरा भएको छ । ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको जानकारहरु बताउँछन् ।

ल्होछारका अवसरमा आज नेपाल तामाङ घेदुङलगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्दैछ । सोनाम ल्होछार महोत्सवका नाममा तामाङ खाना, भेषभूषा, कला संस्कृति लगायतको प्रदर्शन गरिने जनाइएको छ ।

ल्होछारको अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले सोनाम ल्होछारले विश्वशान्ति र भ्रातृत्व प्रवर्द्धधनमा मदत गर्ने बताउनुभएको छ । यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक सद्भावलाई सुदृढ गर्दै राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको बताउनुभएको छ । यस्तै ल्होछारको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिँदै वर्तमान सरकार समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य राखेर अघि बढेको र यस यात्रामा देशका सबै जातजाति, धर्म र सम्प्रदायको योगदान अपेक्षित रहेको बताउनुभएको छ । उहाँले विविध सांस्कृतिक परम्परा र संस्कृतिले नेपाललाई विश्वमा अलग पहिचान दिएको उल्लेख गर्नुभयो । यसैबीच तामाङ समुदायको बाहुल्य रहेको बागमति प्रदेश सरकारले २८५६ औँ सोनाम ल्होछारको अवसरमा आज सार्वजनिक विदा दिएको छ । 


प्रतिक्रिया