मिनी पानी जाहाजमा उपराष्ट्रपति पुन (तस्बिरहरु)

माघ १०, २०७६ | चितवन

उपराष्ट्रपति नन्दबहादुर पुनले शुक्रबार मिनी पानी जाहाज अर्थात क्रुज शीपको यात्रा गर्नु भएको छ । राइनो वाटर ईन्टरटेनमेन्ट प्रालिले देशमै पहिलो पटक क्रुज सञ्चालन गर्न लागेको छ । चितवनको भरतपुर महानगरपालिका–१६ मंगलपुरको काप्रेघाटदेखि नारायणी नदीमा देवघाटसम्म क्रुज चल्ने जनाएको छ । निर्माणाधिन सोही क्रुजमा उपराष्ट्रपति पुनले लगभग आधा घण्टा यात्रा गर्नुभयो ।

‘रमाइलो लाग्यो, राम्रो पनि लाग्यो । बन्दै रहेछ चाँडै तयार भएर व्यवसायिक रुपमा पनि सञ्चालन होस’ क्रुज यात्रापछि उपराष्ट्रपति पुनले सञ्चारककर्मीलाई संक्षिप्त प्रतिकृया दिनुभयो । नारायणगढदेखि झण्डै ६ किलो मिटर पश्चिम नारायणी नदी किनारमा क्रुजको स्टेशन रहेको छ । राइनो वाटर ईन्टरटेनमेन्ट प्रालिका प्रवन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार १५ करोड रुपैयाँको लागतमा क्रुज बन्ने छ ।

‘इन्जिन राखेपछि नदीमा चल्न सक्ने वा नसक्ने बारेमा महिना दिनअघि परीक्षण गरेका हौं । १३० टनको यो क्रुज नदीमा सफल्तापुर्वक चल्यो । संरचना निर्माणका काम लगभग सकियो । तर साजसज्जाका साना मसिना कामहरु बाँकी छ । त्यो पुरा भएपछि क्रुज व्यवसायिक रुपमा पनि चल्ने छ’ प्रवन्ध निर्देशक कँडेलले भन्नुभयो, पहिला दशैंसम्म चलाउने तयारी थियो । पछि अंग्रेजी नयाँ वर्षमा चलाउने भनियो । ’

अहिले पनि सजावटका कामहरु बाँकी नै भएका कारण क्रुज सञ्चालनको मिति तोकी हाल्न नसकेको कँडेलले बताउनुभयो । दुई तलाको सो क्रुजमा एक पटकमा दुई सयजना चढ्न सक्ने छन् । पर्यटकीय उद्देश्यका लागि क्रुज सञ्चालन हुने हुँदा यसले चितवनको पर्यटन विकासमा नयाँ आयम थप्ने उहाँले बताउनुभयो । बिहान, दिउँसो र राति गरेर तीन समयमा क्रुज सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । 


प्रतिक्रिया