नेपालमा पनि कोरोना भाइरसको संक्रमण

माघ १०, २०७६ | काठमाडौं

चीनमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि फेला परेको छ । 

चीनको उहानबाट छुट्टिमा घर आएका नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

चीनमा निमोनिया उत्पन्न गर्ने नयाँ भाइरस देखिएपछि त्यहाँबाट बिरामी अवस्थामा आएका उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गरिएको थियो । 

सो संक्रमणको आशंका गर्दै अस्पतालले बिरामीको रगत र र्‍यालको नमूना विशेष परीक्षणका लागि हङकङ पठाएको थियो । 

परीक्षणपछि संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । अन्य बिरामी भन्दा अलग राखेर उनको डेंगु, स्क्रब टाइफस, इन्फ्लुएन्जालगायत सबै जाँच गरिएको थियो । 

नेपालमा परीक्षण गर्ने उपकरण नभएकाले उनको नमूना विदेश पठाइएको थियो । अहिले उनको विशेष निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ । 


प्रतिक्रिया