उपसभामुखको निर्वाचन प्रक्रिया पनि तत्काल सुरु हुने

माघ १३, २०७६ | काठमाडौं

प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन प्रक्रिया पनि तत्काल सुरु हुने भएको छ । प्रतिनिधि सभाले नयाँ सभामुख पाएलगत्तै संसद सचिवालयले उपसभामुखको निर्वाचन प्रक्रिया सुरु गर्न लागेको हो । सभामुख अग्नी प्रसाद सापकोटाले आज पदभार ग्रहण गर्ने र भोलि दलहरुसँग आवश्यक परामर्श गरी उपसभामुख निर्वाचनको प्रक्रिया अघि बढाउने गरी तयारी अघि बढेको संसद सचिवालयका सचिव गोपालनाथ योगीले जानकारी दिनुभयो । 

दलहरुसँगको छलफलपछि उपसभामुखको निर्वाचन मिति घोषणा हुने उहाँले बताउनुभयो । सभामुख र उपसभामुख फरक दल र लिङ्गबाट हुनु पर्ने संबैधानिक व्यवस्थाका कारण नेकपा बाहेकका दलबाट उपसभामुख बन्ने निश्चित छ । संसदमा नेकपाको स्पष्ट बहुमत रहेकाले उसैको चाहानाअनुसार उपसभामुख चयन हुनेछ । प्रमुख प्रतिपक्षी काग्रेसले दाबी गरेपनि नेकपाले राजपालाई सो पदमा अघि सार्ने सम्भावना देखिएको छ । 


प्रतिक्रिया