प्रदेश सरकारले प्रेस नियन्त्रण गर्न खोजेको आरोप

माघ १३, २०७६ | धनगढी

सुदूरपश्चिम प्रदेश सरकारले प्रेसलाई नियन्त्रण गर्न खोजेको आरोप प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी राजपाका प्रदेशसभा सदस्यले लगाएका छन् । 

प्रेस स्वतन्त्रता नियन्त्रण हुनेगरी कानूनको तयारी गरेको उनीहरुले बताएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले दर्ता गराएको रेडियो, एफएम र टेलिभिजन प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ०७६ माथि प्रदेशसभामा आजबाट सैद्धान्तिक छलफल सुरु भएको हो । 

विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा कांग्रेसका प्रदेशसभा सदस्य भारत खड्काले विधेयकले प्रेसलाई नियन्त्रण गर्ने मनसाय राखेको आरोप लगाउनुभयो । 

विषयगत समितिमा विधेयकका प्रावधान सम्बन्धमा गहन छलफल हुनुपर्नेमा कांग्रेस सांसद खड्काले जोड दिनुभयो । राजपाका प्रदेशसभा सदस्य मालमती रानाले संघीय कानून नआउँदै प्रदेशमा यो विधेयक ल्याउनु उचित नभएको बताउनुभयो । 

बैठकमा सत्तारुढ दलका प्रदेशसभा सदस्यले विधेयकका प्रावधानमा कुनै कमीकमजोरी भए विषयगत समितिमा छलफलको चरणमा सच्याउन सकिने बताएका थिए । सत्तारुढ नेकपाका प्रदेशसभा सदस्य पूर्णा जोशीले विधेयककै प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता भनेर उल्लेख भएकोले अन्य प्रावधानमा कुनै बद्नियत राखेको छ भन्ने शंका गर्न नहुने बताउनुभयो । 


प्रतिक्रिया