चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई आज कोरोना भाइरस परिक्षणसम्बन्धि तालिम

माघ १४, २०७६ | ..काठमाण्डौ

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले काठमाण्डौ उपत्यकाभित्रका केही सरकारी र निजि अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई आज कोरोना भाइरस परिक्षणसम्बन्धि तालिम दिँदैछ । उपत्यकाका पाटन, ग्रान्डी, सिभिल, भक्तपुर, प्रहरी, वीरेन्द्र सैनिक, नर्भिक, त्रिवि शिक्षण र वीर अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई तालिम दिन लागिएको हो । 

तालिममा शंकास्पद विरामीको रगत र र्‍यालको नमुना व्यवस्थापन गर्ने विधि सिकाइने प्रयोगशालाकी निर्देशक डा रुणा झाले जानकारी दिनुभयो । उनीहरुलाई स्वास्थ्य सेवा विभागमै बोलाएर तालिम दिइने उहाँले बताउनुभयो । काठमाण्डौ उपत्यका बाहिरका अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई पनि तालिम दिने तयारी भइरहेको झाले बताउनुभयो । भाइरस अनुसन्धान गर्नै संस्था सीएमडीएनसँग रिएजेन्ट केमिकल पैँचो लिएर प्रयोगशालाले हिजोदेखि कोरोना भाइरसको परिक्षण नेपालमै सुरु गरेपछि स्वास्थ्यकर्मीलाई समेतविशेष तालिम दिन लागेको हो ।

यसैबीच कोरोना भाइरस नेपालमा उत्पति नभएकाले चीनबाट आउने व्यक्तिहरुलाई निगरानीमा राख्ने र संक्रमण भएको पाइए उनीहरुलाई अरुको सम्पर्कमा पुग्नबाट रोक्ने नै उत्तम उपाय हुने चिकित्सकहरु बताउँछन् । ग्राण्डी इन्टरनेशल अस्पतालका मेडिसिन तथा बाथ रोग विभागका प्रमुख डा. विनयकुमार रेग्मीले कोरोना भाइरसको संक्रमणबाट सचेत हुनुपर्ने तर आत्तिनुपर्ने अवस्था नरहेको बताउनु भएको छ ।

रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्समा कुरा गर्दै डा. रेग्मीले सामान्य रुघा खोकी र ज्वरो आउँदैमा कोरोना संक्रमणको जाँच समेत गर्नु नपर्ने उल्लेख गर्नुभयो । अन्य भाइरल संक्रमणजस्तै दीर्घ रोगी र रोग प्रतिरोधात्मक क्षमता कम भएका र बढ्दो उमेरका मानिसमा कोरोनाको संक्रमण चाँडै सर्ने डा. रेग्मीले बताउनुभयो । आराम गर्ने, झोलिलो कुरा खाने, सागसब्जी बढी मात्रामा खाने गर्नाले पनि संक्रमण कम हुने उहाँको सुझाव छ । 

खोक्दा, हाँछ्युू गर्दा मुख छोप्ने, हातहरु पटकपटक सफा गर्नु पनि संक्रमण सर्न नदिने उत्तम उपाय हुने उहाँको भनाई छ । कोरोना भाइरसको संक्रमण भए नभएको जाँच गर्ने किट र केमिकलकै अभाव भएकाले पनि सबै रुघाखोकीका बिरामीले यसको जाँच गराइहाल्न नपर्ने उहाँको सुझाव छ । धेरै ज्वरो आउने, टाउको दुख्ने र रुघाखोकी अलि बढी नै लागेमा मात्रै यसको जाँच गर्न सकिने डा. रेग्मीले बताउनुभयो ।


प्रतिक्रिया