वीरेन्द्रनगरमा भोलि बिहान ६ बजेसम्म कर्फुयू

माघ १४, २०७६ | सुर्खेत

टिपरको ठक्करबाट एक जनाको मृत्यु भएपछि तनावपूर्ण बनेको सुर्खेतको वीरेन्द्रनगरमा स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ । जिल्ला प्रशासन कार्यालयले अघि साँझ साढे ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फुयू आदेश जारी गरेको हो ।

वीरेन्द्रनगरको मूलपानी चोक नजिकै बिहान भे १ ख २२४२ नम्बरको टिपरले ठक्कर दिंदा भे १ प २१७८ नम्बरको मोटरसाइकलमा सवार कालिकोट महावै गाउँपालिका–३ सिम्खेतका २० वर्षीय केशर सिंहको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनालगत्तै, स्थानीय र मृतकका आफन्तले बजार बन्द गराउनुका साथै टायर बालेर प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले यातायात सेवा समेत अवरुद्ध पारेका थिए ।

टिपर चालकको लापरबाहीले दुर्घटना भएको भन्दै प्रदर्शनकारीले दोषीलाई कडा कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै प्रदर्शन चर्काएपछि अवस्था तनावपूर्ण बनेको हो । 

अवस्था सामान्य बनाउनका लागि कफ्र्यू आदेश जारी गरेको स्थानीय प्रशासनले जनाएको छ ।


प्रतिक्रिया