नेकपाको केन्द्रीय कमिटी बैठकमा आफ्नै आलोचनाको तयारी

माघ १५, २०७६ | काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटिको पहिलो बैठक आज सुरु हुँदैछ । काठमाण्डौस्थित राष्ट्रिय सभागृहमा बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठकको उद्घाटन गर्नुहुनेछ । बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहालले दुवै अध्यक्षको तर्फबाट राजनीतिक प्रतिवेदन पेश गर्ने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभयो । दाहालले पार्टी र सरकारको कामकारबाहीप्रति आत्म–आलोचना गर्दै राजनीतिक प्रतिवेदन तयार पार्नुभएको छ । गत पौष २९ गते बसेको स्थायी समिति बैठकले सुझावसहित पारित गरेको प्रतिवेदन नै अध्यक्ष दाहालले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्नुहुनेछ । दाहालको प्रतिवेदनमा बहुचर्चित अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको बिषय पनि समेटिएको नेकपा स्रोतले जनाएको छ ।

आजै महासचिव विष्णु पौडेलले सांगठनिक र विधान संसोधन तथा सात प्रदेशका ईन्चार्जले आफ्नो प्रगति प्रतिवेदन पेश गर्नेछन् । सबै प्रतिवेदनमाथि १५ समुह बनाई छलफल गर्ने नेता खनालले बताउनुभयो । ३० सदस्यको समुहले आज र भोलि छलफल गरी १७ गते समुहगत निष्कर्ष सुनाउनेछन् । पार्टी एकीकरणको २१ महिनापछि बस्न लागेको बैठकमा सरकार र पार्टीको कामकारबाही तथा समसामायिक विषयमा सदस्यहरुले पहिलो पटक आफ्नो धारणा राख्नेछन् । सरकार तथा पार्टीको कामकारबाहीलाई लिएर पार्टी भित्रै तीव्र आलोचना गर्दै आएका केन्द्रिय सदस्यहरुले त्यसबारे नेतृत्वको ध्यानाकर्षण गराउने तयारी गरेका छन् । पार्टीभित्र गुटगत राजनीति हाबी भएको र पद्दति विपरीत सीमित व्यक्तिहरुमात्र निर्णय प्रक्रियामा सहभागी भएको भन्दै केन्द्रीय सदस्यहरुले नेतृत्वको आलोचना गर्दै आएका छन् ।

यसैबीच नेकपाका केन्द्रीय सदस्य हरिबोल गजुरेलले नेतृत्व सच्चिएर अघि नबढे पार्टीको अस्तित्व संकटमा पर्ने बताउनुभएको छ । रेडियो कान्तिपुरसँग कुराकानी गर्दै उहाँले नेतृत्वले आफ्नो कार्यशैलीमा परिवर्तन गरी सबैलाई समेटेर अघि बढ्नुपर्ने बताउनुभएको हो । 


प्रतिक्रिया