नेकपाको केन्द्रीय कमिटी बैठक काठमाडौंमा सुरु

माघ १५, २०७६ | काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय समिति बैठक २० महिनापछि सुरु भएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठकको उद्घाटन गर्नुभयो । 

चार सय ४५ सदस्यीय केन्द्रीय समिति बैठकमा, एकीकरणपछि केन्द्रीय सदस्यहरुले पहिलो पटक धारणा राख्न लागेका हुन् । उद्घाटन मन्तव्यपछि अध्यक्ष ओली बाहिरिएपछि बैठकको अध्यक्षता अर्का अध्यक्ष पुष्पकलम दाहालले गर्नुभएको छ । 

अध्यक्ष दाहालले दुबै अध्यक्षको तर्फबाट राजनीतिक प्रतिवेदन पेश गर्नुह्ुनेछ । दाहालले पार्टी र सरकारको कामकारबाही प्रति आत्मालोचना गर्दै राजनीतिक प्रतिवेदन तयार पार्नुभएको छ । 

गत पौष २९ गते बसेको स्थायी समिति बैठकले सुझाव सहित पारित गरेको प्रतिवेदन नै अध्यक्ष दाहालले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्नुहुनेछ । दाहालको प्रतिवेदनमा बहुचर्चित अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको विषय पनि समेटिएको नेकपा स्रोतले जनाएको छ । 

आजै महासचिव विष्णु पौडेलले सांगठनिक र विधान संसोधन तथा इन्चार्जहरुले सातै प्रदेशको प्रगति प्रतिवेदन पेश गर्नेछन् । सबै प्रतिवेदनमाथि १५ समूह बनाई छलफल गर्ने वरिष्ठ नेता झलनाथ खनालले बताउनुभयो ।

३० सदस्यको समूहले आज र भोलि छलफल गरी १७ गते समूहगत निष्कर्ष सुनाउनेछन् । पार्टी एकीकरणको २० महिनापछि सुरु बैठकमा सरकार र पार्टीको कामकारबाही तथा समसामायिक विषयमा सदस्यहरुले पहिलो पटक आफ्नो धारणा राख्नेछन् । 

सरकार तथा पार्टीको कामकारबाहीलाई लिएर पार्टीभित्रै तीब्र आलोचना गर्दै आएका केन्द्रीय सदस्यहरुले त्यसबारे नेतृत्वको ध्यानाकर्षण गराउने तयारी गरेका छन् । 

पार्टीभित्र गुटगत राजनीति हाबी भएको र पद्दति विपरीत सीमित व्यक्तिहरुमात्र निर्णय प्रक्रियामा सहभागी भएको भन्दै केन्द्रीय सदस्यहरुले नेतृत्वको आलोचना गर्दै आएका छन् ।


प्रतिक्रिया