पाटन दरबार क्षेत्रस्थित चारनारायण मन्दिरको जीर्णोद्वार

रेडियो कान्तिपुर संवाददाता

माघ १५, २०७६ | ललितपुर

पाटन दरबार क्षेत्रस्थित १६ औँ शताब्दीमा निर्मित चारनारायण मन्दिरको जीर्णोद्वार सम्पन्न भएको छ । पाटन दरबार क्षेत्रमा आज बिहान आयोजित कार्यक्रममा नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीले जीर्णोद्वार सम्पन्न भएको जानकारी दिनुभएको हो । 

भ्रमण वर्ष मनाउँदै गर्दा जीर्णोद्वार भएको चारनारायण मन्दिरलाई नेपालप्रति अमेरिकी प्रतिबद्धताको अर्को प्रमाणका रुपमा हेर्ने राजदूत बेरीले आग्रह गर्नुभयो । २०७२ सालको महाभूकम्पमा सो मन्दिर पूर्णरुपमा भत्किएको थियो ।

अमेरिकी दूतावासले जीर्णोद्वारका लागि सांस्कृतिक संरक्षण सम्बन्धी राजदूत कोष एएफसीपी मार्फत १ लाख अमेरिकी डलर सहयोग गरेको थियो । यस्तै, जीर्णोद्वारमा जापानी, जर्मन दूतावासले पनि सहयोग गरेका थिए । 

कार्यक्रममा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पुरातात्तिक सम्पदाको जीर्णोद्वारमा अमेरिकाले पुर्‍याएको सहयोगप्रति धन्यवाद दिनुभयो ।

यसैबीच, एएफसीपीले पाटनमा दरबार, मूलचोक, सुन्दरीचोक र १७ औँ शताब्दीका धारापानी संरचनाको जीर्णोद्वार लगायत अन्य परियोजनाहरूलाई सहयोग गरेको अमेरिकी दूतावासले जनाएको छ ।  


प्रतिक्रिया