प्रजातन्त्र स्थापनाको ७० वर्ष

फाल्गुन ७, २०७६ | काठमाडौं

एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली मात्रै भएन, त्यसैको आडमा आज संघीय गणतान्त्रिक मुलुकको जग स्थापित भएको छ । इतिहासका विभिन्न कालखण्डमा भएका परिवर्तन सम्भवतः फागुन ७ बाटै प्रेरित भएका छन् । रैतीबाट प्रजा र प्रजाबाट सार्वभौमसत्ता सम्पन्न नागरिकको पगरी पहिर्‍याउने आजको दिनलाई कम आँक्न मिल्दैन यद्यपी यस दिनको ऐतिहासिकतालाई कर्णप्रिय भाषणमा मात्रै सिमित गरिएकोप्रति भने सरोकारवालाहरु असन्तुष्ट छन् । मुलुकमा शासन परिवर्तन भयो तर व्यवस्था परिवर्तन भएन भन्नेहरुको जमात पनि बाक्लै छ ।

 प्रजातन्त्र स्थापनाबाट प्राप्त अधिकारलाई संस्थागत गरी व्यवहारमा पूर्णतः लागू नगरेसम्म दिवसको महत्व उजागर नहुने उनीहरु बताउँछन् । यद्यपी यस अवधिमा रहेका केही कमीकमजोरीलाई पन्छाउँदै विश्लेषण गर्ने हो भने, उपलब्धि शून्य भने छैन तर उत्साहजनक पनि नभएको गुनासो बढी छ । २००७ साल पछिका युगान्तकारी परिवर्तन पछि हाल जनता स्वयले बनाएको संविधान प्रजातन्त्र प्राप्तिपछि कै महत्वपूर्ण उपलब्धि बनेको छ ।

 वर्षौ लामो द्वन्द्व अन्त्य,जनताको संविधान, अनि जनताकै सरकार , प्रजातन्त्र स्थापजना पछिको उपलब्धी हुन् । राजनीतिक स्थायित्व उन्मुख भएसँगै आर्थिक समृद्धितर्फ मुलुक अघि बढ्नु, संघीयताको सुरुवात लगायतले पनि केही बलियो आधार तयार पारेको छ । द्वन्द्वकालिन मुद्दाको सम्बोधन नहुनु, भ्रष्ट्राचार नियन्त्रणमा चुक्नु लगायतका विषय मौन छन् । प्रजातन्त्र दिवसलाई नेताहरुले एक दिनका लागि तामझामका साथ मनाउने मात्रै होइन, प्रजातन्त्र प्राप्तीका लागि सहिदले दिएको बलिदानीको मूल्याङ्कन गर्नु पनि आवश्यक छ ।

यसैबीच प्रजातन्त्र स्थापना भएको दिन सम्झनामा आज ७० औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । दिवसका अवसरमा अहिले केहीबेरमा सैनिक मञ्च टुँडिखेलमा औपचारिक समारोहको आयोजना गर्दैछ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपसभामुख लगायतको उपस्थिति रहनेछ ।

शुभकामनाहरु

यसैबीच दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताको चाहना मुलुकको आर्थिक–सामाजिक रूपान्तरण भएको र नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अंगिकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको बताउनुभएको छ । सन्देशमा उहाँले भन्नुभएको छ, ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा हासिल गर्न यो दिवसले थप उर्जा प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले शुभकामना दिँदै नेपालीको अबको साझा एजेण्डा संविधानको सफल कार्यान्वयन, बलियो राष्ट्रिय एकता र प्रत्येक नागरिकले प्रत्यक्ष अनुभूत गर्ने गरी दिगो आर्थिक विकास सहितको समृद्ध नेपाल निर्माण भएको बताउनुभएको छ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शुभकामना दिँदै राजनीतिक संक्रमणकालको अन्त्यपछि सुशासन र विकासको दिशामा अग्रसर रही प्रजातान्त्रिक आन्दोलनमार्फत देशको गरिमा र यश विस्तार गर्ने जनताको चाहना सफलताको दिशामा अभिमूख रहेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, हामी सन् २०२२ सम्ममा नेपाललाई अति कम विकसित मुलुकको स्तरबाट स्तरोन्नति गर्ने र सन् २०३० भित्र दीगो विकासका लक्ष्यहरु हासिल गर्ने अभियानमा छौं । यस लक्ष्य प्राप्तिका लागि हामी हाम्रा हरेक क्षण, सम्भावना र सामर्थ्यको सदुपयोग गरिरहेका छौं । यसैबाट नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने आकाङ्क्षा पूरा गर्दैछौं ।

यसैबीच प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले दिवसका अवसरमा शुधकामना दिँदै संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्न सके मात्रै प्रजातान्त्रिक आन्दोलनमा बलिदानी शहिदहरुप्रति सच्चा सम्मान प्रकट हुने बताउनुभएको छ ।

३ सय २९ कैदी आज रिहा हुँदै

यसैबीच सरकारले प्रजातन्त्र दिवसको उपलक्ष्यमा सजाय मिनाहा गरेका ३ सय २९ कैदी आज रिहा हुँदैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा आजदेखि लागू हुने गरी ३ सय २९ कैदीको बाँकी कैद मिनाहा गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिका अनुसार संविधानको धारा २ सय ७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसुर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम राष्ट्रपतिले सरकारको सिफारिसमा उनीहरूको कैद मिनाहा गर्नुभएको हो । सरकारले ६० प्रतिशत जेल सजाय भुक्तान गरिसकेकालाई सम्बन्धित जेल प्रशासन हुँदै कारागार विभागबाट आएको प्रस्तावअनुसार उनीहरूलाई रिहा गर्ने निर्णय गरेको हो । 


प्रतिक्रिया