हुबेइ प्रान्तबाट उद्धार गरिएका नेपालीमा कोरोनाको संक्रमण नेगेटिभ

फाल्गुन ७, २०७६ | काठमाडौं

चीनको हुबेइ प्रान्तबाट उद्धार गरी गत आइतबार बिहान नेपाल ल्याइएका १ सय ७५ जनामै कोरोना भाइरस कोभिड १९ को संक्रमण नेगेटिभ रहेको पाइएको छ । 

स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले एक सय ७५ जनाबाट लिइएको र्‍याल परीक्षणबाट कोरोना भाइरसको संक्रमण नेगेटिभ देखिएको बताउनुभयो । 

हालसम्म कोरोना भाइरसको संक्रमण नेदेखिएकाले अवस्था सामान्य रहेको प्रवक्ता श्रेष्ठको भनाई थियो । 

चीनबाट उद्धार गरी ल्याइएका नेपालीमा प्रारम्भिक चरणमा कोरोना संक्रमण नदेखिएपनि अवस्था खतरा मुक्त भने नरहेको प्रवक्ता श्रेष्ठको भनाई छ ।

उनीहरु गत आइतबारदेखि भक्तपुरको खरिपाटीमा बनाइएको क्वारेन्टाइन क्षेत्रमा बसिरहेका छन् । उनीहरु सबै जनाबाट लिइएको नमुनाको परीक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थियो । 

प्रयोगशालाले हिजो साँझ सबैको रिपोर्ट दिएको बताउँदै प्रवक्ता श्रेष्ठले हाललाई कसैमा पनि कोरोनाको संक्रमण नदेखिएको उल्लेख गर्नुभयो । 

कोरोना भाइरस संक्रमणको लक्षण १४ दिनसम्ममा देखिने हुँदा क्वारेन्टाइना राखिएकाको आगामी १७ अन्तिम पटक र्‍याल परीक्षण गरी संक्रमण नभएको पाइएमा घर पठाउने सरकारको तयारी छ । 


प्रतिक्रिया