‘सेक्युरिटी प्रिन्टिङ प्रेस’ खरिदमा भएको अनियमितता छानबिन गर्न कांग्रेसको माग

फाल्गुन ८, २०७६ | काठमाडौं

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ‘सेक्युरिटी प्रिन्टिङ प्रेस’ खरिदमा भएको अनियमितता छानबिन गर्न सरकारसँग आग्रह गरेको छ ।

मन्त्रीबाटै भएको अनियमितता सम्बन्धी यस घटनाको जिम्मेबारी प्रधानमन्त्रीले लिनु पर्ने कांग्रेसको माग छ । बाँस्कोटालाई बर्खास्त र घटना छानविनको माग गर्दै कांग्रेसले आज संघीय संसदका दुवै सदनको बैठक अवरुद्ध गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ नदिएसम्म संसदको अवरोध कायम राख्ने कांग्रेसको चेतावनी छ ।

दिउँसो एक बजेका लागि बोलाईएको प्रतिनिधिसभा बैठक झण्डै २ घण्टा ढिला गरी सुरु भएपनि कांग्रेसले अवरुद्ध गर्‍यो । बैठकको सूरुमै समय लिएर बोल्दै सचेतक पुष्पा भुषालले नेपाल सरकार भित्रै बाट पटकपटक भ्रष्टचारका घटनाहरु सार्वजनिक हुनु दुखद भएको बताउदै निश्पक्ष छानविनको माग गर्नुभयो ।

कांग्रेस सांसदले अवरोध जारी राखेपछि सभामुख अग्नी सापकोटाले बैठक आगामी मंगलबारसम्मका लागि स्थगित गर्नुभयो ।

राष्ट्रिय सभा बैठकको सुरुमै समय लिएर बोल्दै कांग्रेस सांसद जीतेन्द्रनारायण देवले सञ्चारमन्त्रीलाई अबिलम्ब बर्खास्त गर्न माग गर्नुभयो ।

सो लगत्तै कांग्रेस सांसदले उठेर बिरोध जारी राखेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक आगामी बिहीबारसम्मका लागि स्थगित गर्नुभयो ।

यसअघि कंग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै घटनाको अनुसन्धान गर्न आग्रह गर्नुभएको थियो । 

उहाँद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद तयारी गरेसँगै ठूलो रकमको अनियमितता तयारी भइरहेको थियो भन्ने अनुमानित विवरण यसअघि नै सार्वजनिक भएका थिए । तर स्वयं सञ्चारमन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपश्चात् त्यो अनुमान बलियो ढंगले प्रमाणित भएको छ ।’

यस्तै साझा पार्टीका प्रवक्ता डा.सूर्यराज आचार्यले पनि विज्ञप्ति निकालेर सञ्चारमन्त्रीलाई बर्खास्त गरेर अडियो बारे निश्पष छानविन गर्न माग गर्नुभएको छ । 


प्रतिक्रिया