बहुभाषिक डिजिटल भाषाकोश बनाउन शब्द संकलन कार्य शुरु

फाल्गुन ९, २०७६ | काठमाण्डौं

– राष्ट्रिय भाषा आयोगले नेपालमा लोपोन्मुख अवस्थामा रहेका विभिन्न २८ भाषाको शब्द संकलन कार्य शुरु गरेको छ । विभिन्न भाषामा प्रयोग हुने शब्द संकलन गरेर बहुभाषिक डिजिटल ‘भाषाकोश’ बनाउने लक्ष्य सहित शब्द संकलन शूरु गरेको आयोगले जनाएको छ । नेपालको राष्ट्रिय भाषा नेपाली भएपनि २०६८ सालको जनगणना अनुसार १ सय २३ भाषाहरु मातृभाषाको रुपमा बोल्ने गरेको पाइएको छ । भाषाशास्त्री बलराम प्रसाईको नेतृत्वमा आयोगले अहिलेसम्म एउटा भाषाको दुई हजारदेखि पाँच हजार शब्द समेटिएको जनाएको छ । नेपाली भाषाका शब्द केन्द्रमा राखेर ती शब्द जोडिने भाषाशास्त्री प्रसाईले बताउनुभयो । 

प्रयोगकर्ताले पनि प्रयोग गर्न मिल्ने बनाउने आफूहरुको उद्देश्य रहेको भाषाशास्त्री प्रसाईको भनाई छ । ती भाषाका शब्द संकलन गरेर डिपार्टमेन्ट अफ आइटीको गभर्मेन्ट इन्टिग्रेटेड डेटा सेन्टर जीआईडीसीमा राखिएको छ । अन्तरभाषिक कुराकानीका लागि पनि डाटा मिल्ने गरी ग्राफ टेक्नोलोजीमा सो शब्दकोश तयार गरीरहेको उहाँको भनाई छ । अबको एक बर्षमा नियन्त्रित रुपमा केही व्यक्तिले प्रयोग गर्न मिल्ने गरी शब्दकोषको तयारी गरीरहेको पनि आयोगले जनाएको छ ।

यसैबीच अन्तर्राष्ट्रिय मातृभाषा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । सन् १९५२ मा तत्कालिन पुर्वी पाकिस्तान अर्थात् वर्तमान बंगलादेशमा बंगाली भाषा बोल्न पाउनुपर्ने मागसहित गरिएको आन्दोलनको सम्झनामा मातृभाषा दिवस मनाउन सुरु गरिएको हो । सन् २००० मा संयुक्त राष्ट्रसंघले समेत मातृभाषा दिवसका रुपमा आह्वान गरेपछि विश्वभर यो दिवस मनाउन थालिएको हो । 


प्रतिक्रिया