कोरोना भाइरस : विमानस्थलमा विशेष सर्तकता

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन १४, २०७६ | . काठमाडौं

चीनको हुबेई प्रान्तबाट सुरु भएको कोरोना भाइरस विश्वभर फैलिन थालेपछि सरकारले विशेष सर्तकता अपनाउन थालेको छ । नेपाल आवतजावत गर्ने क्रममा सम्भावित संक्रमण भित्रिन सक्ने भएकाले सतर्कता अपनाउन सरोकारवाला सवैमा अपिल गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता सागर दाहालले बताउनुभयो । खासगरि वढी नेपाली रहेका देशमा उच्च सर्तकता अपनाउन सम्वन्धित दुतावासलाई आग्रह गरिएको दाहालको भनाई छ ।

दक्षिण कोरियामा कोरोनाबाट १२ जनाको मृत्यु भएपछि नेपालीहरु रहेका क्षेत्रमा थप सर्तकता अपनाउन आग्रह गरिएको छ । दक्षिण कोरियामा फैलिएको कोरोनाका कारण ईपीएसमार्फत कोरिया उडान भएका नेपालीको उडान समेत अन्योलमा परेको छ ।

विमानस्थलमा यसअघि नै डेस्क राखेर कोरोना भाइरस प्रभावित देशबाट आएका व्यक्तिहरूको स्क्रिनिङ भइरहेको छ । निरन्तर १० जना स्वास्थ्यकर्मीहरूको टोली खटिएर स्क्रिनिङ गरिरहेको उहाँले बताउनुभयो । चीनसहित ३८ देशमा कोरोना संक्रमणको पुष्टि भइसकेको छ । हालसम्म विश्वभर ८० हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । कोरोनाकै कारण दुई हजार सात सय जनाको मृत्यु भइसकेको छ ।  


प्रतिक्रिया