घोराही र राप्ती सडक मानवमुक्त पालिका घोषणा

फाल्गुन १६, २०७६ | दाङ

दाङका दुई स्थानीय तह सडक मानवमुक्त घोषणा भएका छन् । सडकमा भेटिएका सबै वेवारिसे मानिसलाई आश्रममा राखी घोराही उपमहानगरपालिका र राप्ती गाउँपालिका सडक मानवमुक्त घोषणा भएका हुन् । 

घोराही उपमहानगरपालिकालाई आज बाजागाजा र झाँकीसहित र्‍याली गरी बेवारिसे सडक मानवमुक्त घोषणा गरिएको हो । ‘वेवारिसे मानवलाई माया, ममता र सहयोग गरौं’ भन्ने नाराका साथ उपमहानगरलाई बेवारीसे सडक मानवमुक्त घोषणा गरिएको नगर प्रमुख नरुलाल चौधरीले बताउनुभयो । 

हरेक व्यक्तिलाई सुरक्षित आवासको व्यवस्था हुनुपर्ने सन्देश दिदै सडकमा भेटिएका मानिसलाई राप्ती गाउँपालिकाको सिसहनियास्थित निल सागर सेवा आश्रममा राखिएको चौधरीले बताउनुभयो । घोराही नगर क्षेत्रबाट १४ जनाको उद्धार गरी आश्रममा राखिएको छ । आश्रममा हाल ३१ जनाले आश्रय लिइरहेको आश्रमका जिल्ला अध्यक्ष प्रकाश विष्टले बताउनुभयो ।

यस्तै राप्ती गाउँपालिकालाई पनि हिजो सडक मानवमुक्त घोषणा गरिएको थियो । सडकमा बस्ने मानिसलाई सुरक्षित आश्रयस्थलमा राखेर गाउँपालिकालाई सडक मानवमुक्त बनाइएको गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले बताउनुभयो ।


प्रतिक्रिया