नेकपाको प्रशिक्षण भेला र सभा स्थगित

फाल्गुन २०, २०७६ | मोरङ

सरकारले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न ठूला सभा–सम्मेलन नगर्न आग्रह गरेसँगै सत्तारुढ नेकपा प्रदेश १ को आन्तरिक राजनीतिक प्रशिक्षण भेला र श्रद्धाञ्जली सभा स्थगित भएको छ । 

झापाको बित्र्तामोडमा आज हुने भनिएको नेकपा प्रदेश १ को भेला र सुखानीमा मारिएका सहिदको स्मृतिमा भोलि आयोजना हुने श्रद्धाञ्जली सभा अन्तिम समयमा आएर स्थगित गरिएको हो । 

सरकारले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि सभा सम्मेलन नगर्न गरेको आग्रहपछि कार्य समितिको बैठकले प्रशिक्षण भेला र श्रद्धाञ्जली सभा स्थगित गर्ने निर्णय गरेको नेकपा प्रदेश १ अध्यक्ष देवराज घिमिरेले बताउनुभयो । 

नेकपाले कर्णाली, सुदूरपश्चिम, प्रदेश ५, गण्डकी प्रदेश र बागमती प्रदेशमा पार्टी प्रशिक्षण भेला सम्पन्न गरेर प्रदेश १ मा गर्न लागेको थियो ।

नेकपा प्रदेश कार्यसमिति गठन भएपछि पहिलो पटक सोमबार बित्र्तामोडमा बसेको बैठकले पार्टी संगठन चुस्त, दुरुस्त बनाउन ज्येष्ठ कम्यूनिष्ट मञ्ज गठन गर्ने, प्रदेश समितिका सदस्यहरुलाई विभागीय जिम्मेबारी बाँडफाँड गरेको छ । 

यस्तै, विभागीय अन्तर्गतका भूगोलहरुको इञ्चार्ज, सह इञ्चार्ज, २१ वटा जनबर्गीय संगठनको इञ्चार्ज र सह इञ्चार्ज तोकिएको र संगठन एकीकरणका कार्यहरुलाई प्रभावकारी रुपमा सम्पन्न गर्नका लागि असार महिनासम्म संगठन सुदृढीकरणको काम अभियानको रुपमा सञ्चालन गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।  


प्रतिक्रिया