भुक्तानी नदिए धर्ना बस्छु : मुख्यमन्त्री

फाल्गुन २०, २०७६ | जनकपुर

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रशासनिक र विकास कार्य सञ्चालनका लागि रकम भुक्तानी गर्न कर्मचारी बाधक बनेको भन्दै त्यस विरुद्ध धर्नामा बस्ने चेतावनी दिनुभएको छ । संघीय सरकारको उक्साहटमा प्रदेश सरकारका उपल्ला तहका कर्मचारीहरुले भुक्तानी गर्न आनाकानी गरेको उहाँले आरोप लगाउनुभयो । 

रेडियो कान्तिपुरसँग कुरा गर्दै मुख्यमन्त्री राउतले, संघीय सरकारले भुक्तानी नगर्न भनेको भन्दै प्रदेशका कर्मचारीहरु पञ्छिने गरेको बताउनुभयो । प्रदेश २ सरकारले गत आर्थिक वर्षमा उपभोक्ता समितिमार्फत गरेका ८ सय १४ वटा योजनाको ८६ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ । 

असार अन्तिम समयमा योजना सम्पन्नको फाइल आएपनि मूल्याकंन गरेर चेक बनाउन नभ्याउँदा भुक्तानी रोकिएको थियो । प्रदेशसभा सदस्यहरुले कमिसन नदिएको कारण भुक्तानी नगरेको आरोप लगाउँदै प्रदेशसभा बैठकमा अवरोध गरेपछि भुक्तानी विवाद बाहिरिएको थियो ।

जनकपुरमै आयोजित अर्को कार्यक्रममा मुख्यमन्त्री राउतले संघीय सरकारले वीरगञ्ज चिनी मिलको जग्गा बिक्री गर्न गरेको निर्णय विरुद्ध अदालत जाने बताउनुभएको छ । चिनी मिलको जग्गा बिक्री गर्ने केन्द्रीय सरकारको निर्णय विरुद्ध प्रदेश सरकारले अदालतमा मुद्दा दर्ता गर्ने उहाँले बाताउनुभयो ।

बन्द अवस्थामा रहेका चिनी मिल प्रदेश सरकारलाई हस्तान्तरण गर्नुको साटो बिक्री गर्ने निर्णय गरेर प्रदेशको अधिकार क्षेत्रभित्र हस्तक्षेप गरेको उहाँको आरोप थियो । संघीय सरकारले वीरगञ्ज चिनी मिलको ६ बिघा जग्गा बिक्री गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया