प्रधानमन्त्री ओलीको बढ्दो सक्रियताप्रति चिकित्सकको चिन्ता

चैत्र ३, २०७६ | काठमाडौं

दोस्रो पटक मृगौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी ओलीको बढ्दो सक्रियताप्रति चिकित्सकहरुले चिन्ता व्यक्त गरेका छन् । सामान्य हिँडडुल गरेर शरीरलाई चलायमान राख्नु सकारात्मक भएपनि सक्रियता बढी हुँदा सक्रंमणको खतरा उत्तिनै बढ्ने उनीहरुको भनाई छ । उमेरका बढ्दै जाँदा यसैपनि संक्रमणको खतरा बढी हुने समयमा प्रत्यारोपणका विरामीले कम्तिमा १ महिना स्वास्थ्यमा उच्च सर्तकता अपनाउनुपर्ने काठमाडौं मोडल अस्पतालका मिर्गाैला विशेषज्ञ डा. अनिल पोखरेलले बताउनुभयो ।

 प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणमा संलग्न चिकित्सकहरुले समेत कम्तिमा १ महिना प्रधानमन्त्रीलाई पुर्ण आरामको खाँचो रहेको बताएका छन् । प्रतिरक्षा प्रणाली कमजोर हुने भएकाले तथा प्रत्यारोपणपछि प्रयोग भएका औषधिका कारण संक्रमणको खतरा हुने चिकित्सकको भनाई छ । 

गत शुक्रबार डिस्चार्ज भएलगत्तै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको जोखिम तथा सरकारको नियमित काम कारबाहीबारे केही मन्त्रीसहित आफू निकटका नेताहरुसँग लामै छलफल गर्नु भएको थियो । शनिबार पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका प्रधानमन्त्री ओली हिजो सार्क राष्ट्रका प्रमुखहरुसंग भिडियो कन्फेरेन्समा सहभागी हुनुभएको थियो ।

संक्रमणबाट जोगाउने सबै उपाय अपनाएको प्रधानमन्त्रीको सचिवालयले दाबी गरेपनि स्वास्थ्यका मामिलामा जोखिम लिन नहुने चिकित्सक पोखरेलको भनाई छ । 


प्रतिक्रिया