काभ्रेको पनौतीमा अनिश्चितकालिन कर्फ्यु जारी

चैत्र ४, २०७६ | काभ्रे

टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएको बिषयलाई लिएर भएको प्रदर्शनले उग्र रुप लिनसक्ने आकंलन गर्दै प्रशासनले पनौतीमा कर्फ्यु जारी गरेको छ । सोमबार प्रदर्शनले उग्र रुप लिएको र बिहानबाटै प्रदर्शन भएको भन्दै अर्को सूचना जारी नभएसम्मको लागि पनौती बसपार्क आसपासको क्षेत्रमा ९ बजेबाट कर्फ्यु जारी गरको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिनुभयो ।

सोमबार पनौतीमा बा.५.ख ५४८० नम्बरको टिपरले ठक्कर दिदा खानीखोला गाउँपालिका–१ की २६ बर्षीय जुनीमाया तामाङ र ३ बर्षीय छोरी स्मारिकाको मृत्यु भएको थियो । पनौतीमा मंगलबार पनि प्रदर्शन जारी राखेका छन् । आक्रोशित आफन्त र स्थानीयले टायर बालेर यातायात ठप्प पार्दा पनौती हुदै गुड्ने यातायातका साधन अवरुद्ध भएका छन् ।

आक्रोशित आफन्त र स्थानीयले प्रदर्शन थालेपछि प्रहरीसंग तनावको स्थिती बनेको थियो । स्थिती नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गरेको थियो । गोलीको छर्रा लागेर प्रहरी हलव्दारसहित ६ प्रहरी र ३ स्थानीय घाइते भएका थिए । प्रदर्शनककारीबाट चलेको गोलीको छर्रा लागेको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

खानीखोला–१ स्थित कालिका प्राथमिक विद्यालयको प्रधानाध्यापक समेत रहेकी उनले परिक्षा व्यवस्थापनको जिम्मेवारी अरुलाई दिएर स्वास्थ्य जाँचको लागि बनेपा आउदै गर्दा टिपरले ठक्कर दिएको थियो । मृतकको शव पोष्टमार्टमको लागि शिर मेमोरियल अस्पतालमा राखेपनि हुन सकेको छैन ।



प्रतिक्रिया