रुपन्देहीको सैनामैनामा कोरोना अस्थायी अस्पताल

चैत्र १४, २०७६ | बुटवल

रुपन्देहीको सैनामैना नगरपालिकामा कोरोना भाइरसविरुद्ध कोरोना अस्थाई अस्पताल स्थापना गरिएको छ । सैनामैना नगरपालिका–१ स्थित पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयमा एक सय शैय्याको कोरोना विशेष अस्थायी अस्पताल सञ्चालनमा ल्याएको हो । 

नगरप्रमुख चित्र बहादुर कार्कीले कसैलाई कोरोनाको आशंका भएमा तत्काल अस्पताल ल्याएर उपचार गरिने बताउनुभयो । अस्पतालमा बिरामीको लक्षण अनुसार विज्ञ चिकित्सकसँग अनलाइन परामर्श दिने व्यवस्था समेत गरिएको छ । 

नेपाली सेनाको सहयोगमा अस्पतालका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) उत्पादन र सैनामैनाको पशुपति माविस्थित विज्ञान प्रयोगशालामा ५ सय लिटर स्यानिटाइजर उत्पादनको काम समेत सुरु भएको नगरप्रमुख कार्कीले बताउनुभयो । 

अस्पतालमा सैनामैनाका चिकित्सक प्रकाश खरेल र नेपाली सेनाका चिकित्सक रक्षा गुरागाँईको नेतृत्वमा एक जना हेल्थ असिटेण्ट र दुई नर्स गरी ६ जनाको टोली खटिएको छ । 


प्रतिक्रिया