राप्ती स्वास्थ्य प्रतिष्ठानमा कोरोना विशेष अस्पताल

चैत्र १४, २०७६ | दाङ

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रयोगशाला सहितको कोरोना विशेष अस्पताल सञ्चालन हुने भएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँगको छलफलपछि सो निर्णय गरिएको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले जानकारी दिनुभयो । 

अहिले प्रदेश सरकारको पहलमा बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय आयुर्वेद बिद्यापीठमा कोरोना विशेष अस्पताल सञ्चालनमा आएको छ । एक सय शैय्याको कोरोना अस्पतालमा जिल्लाका स्थानीय तहबाट स्वास्थ्यकर्मी व्यवस्थापन गरिएको छ । 

अस्पतालमा खट्ने स्वास्थ्यकर्मीलाई शतप्रतिशत र सुरक्षाकर्मीलाई ५० प्रतिशत भत्ताको व्यवस्था गरिएको अस्पताल सञ्चालन समितिका संयोजक प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले बताउनुभयो ।

अस्पताल भर्ना हुने बिरामीलाई खाना खुवाउन स्थानीय तहहरुले कोष बनाएका छन् । कोषमा घोराही र तुलसीपुर उपमहानगरपालिकाका साथै लमही नगरपालिकाले १/१ लाख तथा अन्य सात गाउँपालिकाले ५०/५० हजार रुपैयाँ सहयोग गर्ने भएका छन्् । 


प्रतिक्रिया