नेपाल–भारत सीमा क्षेत्र सशस्त्र प्रहरीको उच्च निगरानीमा

चैत्र १५, २०७६ | काठमाडौं

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन नेपाल र भारत दुबै देशमा लकडाउन गरिएपछि सीमा क्षेत्रलाई सशस्त्र प्रहरी बलले उच्च निगरानीमा राखेको छ । सीमा क्षेत्रको अवस्था हाल अति संवेदशील छ । 

सीमा क्षेत्रमा पिकेट र मोबाइल भ्यानले २४ सै घण्टा गस्ती सुरु गरिएको सशस्त्र प्रहरीका डीआईजी प्रविनकुमार श्रेष्ठले बताउनुभयो । दार्चुलादेखि ताप्लेजुङसम्म गरी नेपालका २७ जिल्लाको सिमाना भारतसँग जोडिएको छ । ती क्षेत्रमा सशस्त्र प्रहरीको १ सय २० वटा बोर्डर आउट पोष्ट (बीओपी) छन् ।

यस्तै सीमानामा गण, गुल्मले पनि थप निगरानी गरिरहेका छन् । नेपालबाट खुला सीमाका कारण मानिसहरु सहज रुपमा भारत जान खोज्नु र भारतबाट नेपालतिर आउनेहरुलाई रोक्ने काम सशस्त्र प्रहरीले गरिरहेको छ । सीमा क्षेत्रमा मात्र नभएर सशस्त्र प्रहरी बलले लकडाउनलाई पूर्णरुपमा कार्यान्वयन गराउन अन्य क्षेत्रमा खटिएको छ । 

यस्तै, अस्पताल, आइसोलेशन र क्वारेन्टाईन क्षेत्रलाई समेत सशस्त्र प्रहरीले सुरक्षा दिईरहेको छ । सशस्त्र प्रहरीले आफ्नो न्यून जनशक्तिलाई अधिकतम प्रयोग गरेर सीमाक्षेत्र र बजार क्षेत्रमा प्रभावकारी रुपमा परिचालन गरेको डीआईजी श्रेष्ठले बताउनुभयो । लकडाउनलाई पूर्णरुपमा कार्यान्वयन गर्न अहिले सशस्त्रले १८ हजार जनशक्ति परिचालन गरेको पनि उहाँले जानकारी दिनुभयो । 

यसैबीच, लकडाउन कार्यान्वयन गर्न खटिएको जनशक्तिलाई सशस्त्रले ‘विशेष खाजा’ खुवाउन देशभरका युनिटलाई परिपत्र गरिसकेको छ । नियमित रासन स्केल बाहेक दिउँसो छुट्टै खाजाको व्यवस्था गर्न सशस्त्रले जारी गरेको परिपत्रमा उल्लेख छ । 


प्रतिक्रिया