मनाङमा ‘डिसइन्फेक्सन स्प्रे’ छर्न सुरु

चैत्र १५, २०७६ | लमजुङ

हिमाली जिल्ला मनाङको चामे बजार र पदमार्ग क्षेत्रमा डिसइन्फेक्सन स्प्रे (कीटनाशक औषधी) छर्न थालिएको छ । विदेशी पर्यटकले कारोना (कोभिड–१९) को भाइरस ल्याउन सक्ने आँकलन गर्दै चामेको पदमार्ग क्षेत्र, बजार र सरकारी कार्यालय आउनेजाने बाटोमा कीटनाशक औषधि छर्किएको हो । 

स्वास्थ्य कार्यालय मनाङको सहयोगमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले कीटनाशक औषधी छरेको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताउनुभयो । उहाँका अनुसार कीटनाशक औषधि छर्कने कार्यमा चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घले, डीएसपी मेखबहादुर कुावर, सशस्त्र प्रहरी बल नेपाल ३२ नम्बर गुल्म चामेका डीएसपी रमेश भुवाजी लगायत आफैं खटिएका थिए । 

कोरोना भाइरस संक्रमण हुन नदिन सरोकारवालाको सहयोगमा कीटनाशक औषधि छर्न थालिएको प्रजिअ पौडेलले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य कार्यालयबाट ३० लिटरको कीटनाशक औषधी ल्याएर छर्कन थालेको हो । चामेको तल्लो बजार, सरकारी कार्यालय जाने माथिल्लो बजार साथै चामेको बीच भागबाट तल्लो र माथिल्लो क्षेत्र जाने चक्रीय अन्नपूर्ण पदमार्ग र सडक दायाँबायाँ शुक्रबार कीटनाशक औषधी छरिएको डीएसपी मेखबहादुर कुँवरले बताउनुभयो ।

औषधि छर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको छुट्टाछुट्टै टोली खटिएको थियो । अस्पताल क्षेत्र र हुलमुल बढी हुने ठाउँ वरपर कीटनाशक औषधि छरिने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले घोषणा गरेको लकडाउन अवधिभरी मानिसलाई सचेत रहन र भित्रै बस्न आग्रह गरिएको छ । सशस्त्र डीएसपी रमेश भुवाजीका अनुसार भुवाजीका अनुसार सवै सुरक्षा निकायको समन्वयमा कोभिड १९ रोकथाम, यसको नियन्त्रण, सचेतना तथा सतर्क र सजकता अभियान सञ्चालन गरिएको छ । 


प्रतिक्रिया