मनाङबाट ३० पर्यटकको उद्दार

चैत्र १५, २०७६ | लमजुङ

चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङमा रहेका ३० पर्यटकको उद्दार गरेर पोखरा पठाइएको छ । सरकारले लकडाउन गरेपछि अलपत्र परेका पर्यटकलाई प्रहरी, स्थानीय तह र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङको सहयोगमा उद्दार गरिएको हो । 

माथिल्लो मनाङ, माथिल्लो पिसाङ, तल्लो पिसाङ, ङावल, चामे लगायत ठाउँबाट पर्यटकलाई उद्दार गरी पोखरा पठाएको मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताउनुभयो । उहाँका अनुसार उद्दार गरिएका पर्यटकमा जर्मन र नेदरल्याण्डका बढी छन् । अमेरिका, फ्रान्स, बेल्जियम स्वीट्जरल्याण्ड लगायतका पर्यटक पनि छन् । 

उहाँका अनुसार ६ वटा बलेरो जिप मार्फत लमजुङको बेंसीसहर हुँदै २४ जना पर्यटकलाई शुक्रबार पोखरा पठाइएको छ । चामेका होटलमा रहेका ६ जनालाई शनिबार बिहान उद्दार गरी पोखरा पठाइएको उहाँले जानकारी दिनुभयो । लमजुङको उत्तरी क्षेत्रमा रहेका पर्यटक समेत सम्पर्कमा आएकाले उनीहरुलाई समेत पोखरा लान भनिएको छ । 

चक्रीय अन्नपूर्ण पदमार्गमा आएका पर्यटक माथिल्लो मनाङ कटेकाहरु थोराङला पास गरेर मुक्तिनाथ पुगेपछि मुस्ताङ प्रशासनले उद्दार गरिसकेको छ । केही पर्यटक हिाडेरै बेंसीसहरतर्फ आएका छन् । मनाङमा अझै पर्यटकको खोजी गरिरहेको प्रजिअ पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘केही पर्यटक हामी यहीं बस्छौं, जाँदैनौं भनिरहेका थिए । तर, उनीहरु अहिले हामी पनि जान्छौं भनिरहेका छन् । जिपको अभाव भयो ।’ त्यहाँ रहेका थप विदेशी पर्यटकको खोजी भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

पोखरा पुगेपछि पर्यटकलाई विभिन्न एजेन्सी, टान, पर्यटन बोर्ड लगायतले उद्दार गर्नेछ । सरकारले विदेशी पर्यटक फर्काउने घोषणा गरेपछि पदमार्गमा रहेका पर्यटकको खोजी गरिएको थियो । लकडाउन गरेपछि मनाङमा तल्लो क्षेत्र धारापानीबाटै पर्यटकलाई माथिल्लो क्षेत्र जान दिइएको छैन । 

लमजुङको मर्स्याङदी गाउँपालिका-९, बगैंचाको पर्यटक चेकजाँच केन्द्र र लमजुङको बेंसीसहरस्थित पर्यटक प्रवेश शुल्क काउन्टरबाट पर्यटक प्रवेश अनुमतिपत्र नदिएको बेंसीसहरस्थित पर्यटक प्रवेश शुल्क काउन्टरका प्रमुख बालकृष्ण घलेले बताउनुभयो । 


प्रतिक्रिया