जिल्लामै ल्याब स्थापना गर्ने सुदूरपश्चिम प्रदेश सरकारको निर्णय

चैत्र १५, २०७६ | धनगढी

सुदूरपश्चिम प्रदेश सरकारले धनगढी, बैतडी र डोटीमा कोरोना संक्रमण भए/नभएको जाँच गर्न ल्याब स्थापना गर्ने निर्णय गरेको छ । शनिबार (आज) बसेको मन्त्रिपरिषदको बैठकले कोरोनाका सम्भावित बिरामीको नमूना परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल, बैतडी र डोटीका जिल्ला अस्पतालमा प्रयोगशाला (ल्याब) स्थापना गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले बताउनुभयो । 

हाल धनगढीमा संकलित नमूना काठमाडौं पठाउनुपर्ने बाध्यता रहेको छ । यस्तै प्रदेश सरकारले कोरोना संक्रमणको जोखिम नियन्त्रण उपचार तथा व्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको छ । सो कोषमा प्रदेश सरकारले ४० करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । 

सो कोषमा योगदान गर्न सर्वसाधारण तथा संघ–संस्थाहरुलाई अनुरोध गर्ने निर्णय भएको मन्त्री शाहले बताउनुभयो । सेती प्रादेशिक अस्पताललाई कोरोना रोगको उपचारका लागि केन्द्रित अस्पतालका रुपमा तोक्ने निर्णय गरेको छ । 

शान्ति सुरक्षा, अन्य मानवीय सेवा सञ्चालन गर्न विभिन्न मन्त्रालयलाई जिम्मेवारी तोकिएको छ । गरिबीको रेखामूनि रहेका र दैनिक ज्यालामजदुरी गुमेका विपन्न बर्गहरुलाई राहत प्याकेज घोषणा गर्न संघीय सरकार तथा स्थानीय तहसंग समन्वय गरी कार्य अघि बढाउने निर्णय गरेको छ ।  


प्रतिक्रिया