लमजुङका दुई अस्पतालमा फिबर क्लिनिक

चैत्र १५, २०७६ | लमजुङ

कोरोना (कोभिड १९) संक्रमित आशंकाका बिरामीलाई लक्षित चेकजाँच तथा उपचारका लागि लमजुङका २ सामुदायिक अस्पतालमा ज्वरो (फिबर) क्लिनिक सञ्चालन गरिएको छ । बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पताल र सुन्दरबजारस्थित नमूना सामुदायिक अस्पतालमा फिबर क्लिनिक सञ्चालन गरिएको हो । 

ओपीडी सेवा बन्द गरेको अस्पतालले इमरजेन्सीमा जानुअघि ज्वरो, रुघाखोकीका बिरामीलाई फिबर क्लिनिकमै चेकजाँच गर्ने गरेको छ । अस्पतालको टिकट काउन्टर अगाडिको क्षेत्रमा त्रिपाल टाँगेर क्लिनिक सञ्चालन गरिएको अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार क्लिनिकमा चिकित्सकले बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सेवा दिनेछ । शुक्रबार भने बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म सेवा उपलब्ध गराउने व्यवस्था मिलाएको उहाँले बताउनुभयो । घाउ तथा चोटपटक लागेकालाई भने इमरजेन्सीबाट सेवा दिइएको उहाँले बताउनुभयो । लमजुङ जिल्ला सामुदायिक अस्पतालमा ५ शैय्याको आइसोलेसन कक्ष रहेको छ । संक्रमणको आशंका देखिएको बिरामीलाई आइसोलेसनमा लगेर उपचार गर्ने गरिएको अस्पतालले जनाएको छ ।

सुन्दरबजार नगरपालिका प्रमुख जनकराज मिश्रका अनुसार ज्वरो, आउने, रुघा लाग्ने जस्ता लक्षण देखिका बिरामीका लागि नमूना सामुदायिक अस्पतालमा ज्वरो क्लिनिक सञ्चालन गरिएको बताउनुभयो । कोभिड–१९ को संक्रमण जस्तो लक्षण देखिने बिरामीलाई आइसोलेशनमा लगेर उपचार गर्ने व्यवस्था मिलाएको उहाँले बताउनुभयो । उहाँका अनुसार नमूना सामुदायिक अस्पतालमा ८ बेडमा आइसोलेशन कक्ष बनाइएको छ ।

लमजुङमा आइसोलेसन भएपनि हाल उपचारार्थ बिरामी छैनन् । केही दिनअघि लमजुङ जिल्ला सामुदायिक अस्पतालको आइसोलेशनमा भर्ना भएर बिरामी उपचार गरिएको थियो । उनलाई ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरी स्वाब परीक्षण गर्दा कोरोना संक्रमण नेगेटिभ देखिएको छ । फिबर क्लिनिक सञ्चालन गर्ने अस्पताललाई सरकारले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।


प्रतिक्रिया