दाङको कोरोना विशेष अस्पतालमा बिरामी थपिंदै

चैत्र १५, २०७६ | दाङ

दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय आयुर्वेद विद्यापीठका स्थापित कोरोना विशेष अस्पतालमा बिरामीहरु थपिंदै गएका छन् । हाल अस्पतालमा ८ जनालाई राखिएको छ । अस्पतालमा राखिएका १३ जनामध्ये पाँच जनामा कुनै लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको छ । 

उनीहरुलाई घरमै क्यारेण्टाइनमा बस्ने सल्लाह दिएर पठाइएको अस्पतालले जनाएको छ । दैनिक बिरामी आउने क्रम जारी छ । विदेशबाट आएका बिरामीलाई स्वास्थ्य जाँच गरी कोरोना विशेष अस्पतालमा राख्ने गरिएको छ । 

यसैगरी घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा राखेर स्वाव परीक्षण गरिएका दुई बिरामीको रिपोर्ट नेगेटिभ आएको छ । उनीहरु विदेशबाट आएका थिए । जाँचका क्रममा शंकास्पद लक्षण देखिएपछि उनीहरुलाई आइसोलेसनमा राखेर स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । 

रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई शुक्रबार नै डिस्चार्ज गरिएको छ । प्रतिष्ठानमा पनि प्रयोगशाला सहितको कोरोना विशेष अस्पताल सञ्चालन गर्ने तयारी भएको छ । प्रतिष्ठानमा अझै तीन बिरामी आइसोलेसनमा छन् ।


प्रतिक्रिया