प्रदेश १ मा २६१ क्वारेन्टाइनमा, १५ आइसोलेसनमा

चैत्र १५, २०७६ | मोरङ

नोवेल कोरोना भाइरस (कोभिड-१९ )को संक्रमणको आशंकामा शनिबार सम्ममा प्रदेश १ को विभिन्न जिल्लामा २ सय ६१ जनालाई क्वारेन्टाइनमा राखेको छ भने १६ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

क्वारेन्टाइनमा १२ जना महिला र २ सय ५९ जना पुरुष रहेको प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । कोरोनाको संक्रमणको आशंकामा राखिएको २९ जना महिला र ५० जना पुरुष गरी ७९ जनामा कुनै लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको आन्तरिक मामिला मन्त्रालयका रवी खनालले बताउनुभयो । 

यस प्रदेशमा हालसम्ममा १ सय २३ स्थानमा स्थापना गरिएको २ हजार १ सय ५९ शय्याको क्वारेन्टाइन स्थापना गरिएको छ । यस्तै, यस प्रदेशको विभिन्न अस्पतालमा स्थापना गरिएको आइसोलेसन वार्डमा ५ जना महिला र ११ जना पुरुष गरी १६ जनालाई कोरोना संक्रमणको आशंकामा उपचार भइरहेको र उनीहरुको स्वाब परीक्षणका लागि नमूना संकलन गरी पठाइएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख सुरेश मेहताले बताउनुभयो ।

६ जना पुरुषलाई आइसोलेसन वार्डबाट डिस्चार्ज गरिएको उहाँले जानकारी दिनुभयो । प्रदेश १ मा कोरोनाको आंशका गरिएका शनिबार सम्ममा २५ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा २२ जनामा नेगेटिभ भेटिएको प्रतिवेदन आएको मेहताको भनाई थियो ।

प्रदेशभरिमा भारत लगायत तेस्रो मुलुकबाट आएका फ्रान्सकी १ महिलासहित ३९ जना महिला र २ सय १६ जना पुरुष गरी २ सय ५५ जनालाई होम क्वारेन्टाइनमा राखिएको मेहताले बताउनुभयो । कतारबाट आएका व्यक्तिलाई पनि होम क्वारेन्टाइनमा राखिएको उहाँको छ । 


प्रतिक्रिया