३ जनामा कोभिड–१९ पोजेटिभ देखिएपछि वीरगञ्जमा त्रास

चैत्र ३०, २०७६ | वीरगञ्ज

पर्साको वीरगञ्ज महानगरपालिका–२ छपकैया स्थित श्रीराम हल अगाडिको मस्जिदमा बस्दै आएका तीन जना भारतीय मुस्लिम धर्म प्रचारकमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि वीरगञ्जवासीमा त्रास फैलिएको छ । अधिकांश टोलवासीले आफ्नो टोल प्रवेश गर्ने मुख्य द्धारमा बाँसले अवरोध गरी ‘प्रवेश निषेध’को बोर्ड झुन्ड्याएका छन् । 

तीन जना संक्रमितलाई नारायणी अस्पतालको आइसोलेशनमा राखिएको छ । उनीहरुसँग सम्पर्कमा रहेका २६ जनालाई शनिबार साँझ करीब ७ बजेको समयमा प्रहरीले नियन्त्रणमा लिएर वीरगञ्ज चिनी मिलस्थित सिद्धार्थ माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखेको छ ।

यसैबीच नारायणी अस्पतालले सम्पूर्ण ओपीडीहरु बन्द गरिएको जनाएको छ । अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायले कोभिड–१९ को संक्रमण देखिएकाले शनिबार देखि लागू हुने गरी अर्को व्यवस्था नहुन्जेलसम्मको लागि नारायणी अस्पतालको आकस्मिक सेवा बाहेक सम्पूर्ण ओपीडीहरु बन्द गरिएको बताउनुभयो । वीरगञ्जमा ३ जनामा संक्रमित देखापरिसके पनि हालसम्म कोभिड विशेष अस्पताल स्थापना नभएकोमा चिकित्सकले चिन्ता गरेका छन् । 

अस्पतालका फिजिसियन डा. निरज सिंहले आइतबार मध्यान्ह सामाजिक सञ्चालमा ‘सरकार कृपया यो स्पष्ट गरिदिनुस कि नारायणी अस्पताल कोभिड १९ अस्प्ताल हो वा होइन ? हो भने अरु बिरामीलाई अर्को अस्पतालमा सार्न पर्‍यो । होइन भने ३ वटै संक्रमित केसलाई कोभिड–१९ अस्पताल सार्नु पर्‍यो । आफ्नो निर्णय स्पष्ट गर, धेरै ढिला भइसक्यो । असन्तुष्टि पोखेका छन् ।'

उहाँका अनुसार कोभिड-१९ का संक्रमितलाई उपचार गर्ने चिकित्सक र स्वास्थ्यकर्मीले अरु विरामीलाई हेर्न मिल्दैन् । अस्पतालमा भर्ना भएका अन्य विरामीको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । यस्तो बेला उनीहरुमा रोग सर्ने सम्भावना बढी हुन्छ । आइतबार नारायणीको ओपीडी बन्द भएपछि उपचार गराउन आएका धेरै सर्वसाधारण फर्किएका थिए । ‘यहाँका शिक्षण तथा नीजि अस्पताललाई या त कोभिड विशेष अस्पताल बनाएर यहाँका ३ संक्रमितलाई सार्नु पर्‍यो,’ डा.सिंहले भन्नुभयो, ‘या त नारायणीको सेवा अन्य अस्पतालमा सार्नु पर्‍यो ।’

यता प्रहरीले संक्रमित व्यक्ति वीरगञ्जको मस्जिदमा कहाँबाट ? कुन बाटो प्रयोग गरी आइपुगे भन्ने अनुसन्धानमा लागेका छन् । बिहीबार नारायणी अस्पतालमा स्क्रिनिङ गराउने क्रममा धार्मिक प्रचारकले आफूहरु ४ महिना अगाडिनै नेपाल प्रवेश गरेको चिकित्सकलाई बताएका थिए । तर, चिकित्सकलाई उनीहरुले बताएको ट्राभेल हिस्ट्रीमा विश्वास लागेको छैन् । चिकित्सकका अनुसार उनीहरुको ट्राभल हिस्ट्री पत्ता लगाउन प्रहरी प्रशासनले कडाइका साथ अनुसन्धान गर्न आवश्यक छ । पर्सा प्रहरीका एक अनुसन्धान अधिकृतका अनुसार धार्मिक प्रचारकले घरि घरि ट्राभल हिस्ट्री फरक फरक बताइरहेका छन् । 


प्रतिक्रिया