दक्षिण भारतमा दश वर्षीय नेपाली बालकमा कोरोना संक्रमण

वैशाख ९, २०७७ | नयाँ दिल्ली

दक्षिण भारतीय शहर बैंग्लोरमा दश वर्षीय नेपाली बालकमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । यी बालकमा एक साताअघि संक्रमण पुष्टि भएको हो । हाल उनको बैंग्लोरकै भिक्टोरिया अस्पतालमा उपचार भइरहेको छ र अवस्था सामान्य रहेको बालकका बुबाले जानकारी दिएका छन् ।

यसअघि यी बालकका बुबा आमालाई पनि कोरोना भाइरसको संक्रमण भएको थियो । सुदूरपश्चिम बझाङको चैनपुरी निवासी यो नेपाली परिवार कामको सिलसिलामा भारतमा बस्दै आएको छ । अघिल्लो महिना बालकका ४५ वर्षीय बुबा र ३५ वर्षीय आमामा कोभिड–१९ पुष्टि भएको थियो । यी महिला एक भारतीय परिवारमा घरेलु कामदारका रुपमा कार्यरत थिइन् । 

सोही परिवारकी एक महिला सदस्य गत १२ मार्चमा लण्डनबाट बैंग्लोर आएकी थिइन् । दुई दिन घरमा बसेकी उनलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । पछि स्वास्थ्य परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि सो भारतीय परिवारको घरमा काम गर्नेहरु सबैलाई बैंग्लोरकै भिक्टोरिया अस्पतालमा आइसोलेशनमा राखेर स्वास्थ्य परीक्षण गरियो । दुई दिनपछि अएको स्वास्थ्य परीक्षण रिपोर्टमा ती नेपाली महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

ती नेपाली महिलामा कोरोना पुष्टि भएपछि स्थानीय प्रशासनलाई उनका श्रीमान र चारजना छोराछोरीलाई पनि तत्कालै आइशोलेशनमा राखेर परीक्षण गरिएको थियो । परीक्षणमा श्रीमानमा पनि संक्रमण देखिएको थियो । संक्रमण नदेखिए पनि छोराछोरीलाई क्वरन्टाइनमा भने राखिएको थियो । 

करीब दश दिनपछि पुन: परीक्षण गर्दा छोरामा भने संक्रमण देखिएको हो । आमा बुबा भने उपचारपछि निको भइसकेका छन् । ‘हामीहरुलाई निको भइसकेको अहिले छोरामा मात्र छ, उसलाई पनि केही दिनमा ठिक होला’ संक्रमित बालकका बुबाले भने ।

बैंग्लोरको पछिल्लो घटनासँगै भारतमा कोरोना भाइरसको संक्रमण हुने नेपालीहरुको संख्या १६ पुगेको छ । तीमध्ये ११ जना भारतमा काम गर्न बसेका नेपालीहरु हुन् । बाँकी पाँच जना ईस्लामिक भेलाका लागि नेपालबाट आएकाहरु हुन् । संक्रमित नेपालीहरुमध्ये तीन जना पूर्ण रुपमा निको भइसकेका छन् ।


प्रतिक्रिया