नियमित सेवन गर्नेलाई घरघरमै औषधि

वैशाख १९, २०७७ | रसुवा

जिल्लाको गोसाईकुण्ड गाउंपालिकाले नियमित औषधि सेवन गर्नेहरुका लागि नि:शुल्क घरघरमै उपलब्ध गराउन सुरु गरेको छ ।

लकडाउनको समयमा औषधि खरिदमा समस्या हुने र औषधि नपाउने लगायतका समस्यालाई मध्यनजर गर्दै पालिकाले घरघरमै औषधि पुर्‍याउने व्यवस्था मिलाइएको हो । पालिकाले नियमित औषधि सेवन गर्ने बिरामीहरूलाई औषधि अभाव नहोस् भनेर घरमै पुर्‍याइदिने व्यवस्था मिलाइएको गोसाईकुण्ड गाउंपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले बताउनुभयो ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि लकडाउन घोषणा गरिएसँगै नागरिकहरू घरबाहिर निस्कन नपाउने र नजिकैको फार्मेसीमा आवश्यक पर्दा नपाइने हुँदा गाउँपालिकाले दीर्घरोगका बिरामीले नियमित सेवन गर्ने औषधि नि:शुल्क रूपमा घरघरमा उपलब्ध गराउन थालेको हो ।

गोसाईकुण्ड गाउंपालिका भित्र करिब चार सय जना नियमित औषधि सेवन गर्ने बिरामिहरु रहेको पालिकाले बताएको छ । पालिकाले बिरामीको लागि औषधि खरिद गरेर ल्याइसकेको छ । जिल्लामा औषधी आइसकेको गोसाईकुण्ड गाउँपालिका स्वास्थ्य प्रमुख बिमल घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, एक दुई दिन भित्र घर घरमै पुर्‍याइन्छ ।

उनीहरूका लागि पाँच सय प्रकारका औषधि खरिद गरिएको छ । नियमित औषधि सेवन गर्नेहरुमा मुटु रोगी, किड्नीको समस्या, दम, उच्च रक्तचाप, मधुमेह तथा अन्य स्वास्थ्य समस्या भएका व्यक्तिहरु रहेका छन् ।

लकडाउन अझै लम्बिन सक्ने र लामो दूरीको यात्रा असहज हुने भएकाले नियमित औषधि सेवन गर्नुपर्ने तथा दीर्घरोगले ग्रसित बिरामीले सेवन गर्ने औषधि गाउँपालिकाले खरिद गरी बिरामीको घर–घरमा नि:शुल्क रूपमा पुर्‍याउन लागिएको घिमिरेको भनाई छ । 


प्रतिक्रिया